समखबर संबाददाता


0 प्रतिक्रिया

632

आयोगद्वारा बालेन, हर्कसहित पाँच जनासँग स्पष्टीकरण

३ महिना अगाडि
समखबर संबाददाता

790

काठमाडौँ, १३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पाँचजना उम्मेदवार तथा दुई संघसंस्थासँग स्पष्टीकरण माग गरेको छ।

निर्वाचन आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहसहित पाँचजना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो।

आयोगका अनुसार बालेन शाहले सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा टिप्पणी गर्दै ‘हत्यारा’ शब्द प्रयोग गरेका थिए, जसलाई आचारसंहिताविपरीत ठहर गर्दै आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ।

त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निकोलस भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनले ‘जेन–जी आन्दोलन’ सँग सम्बन्धित जुत्तालाई चुनाव चिह्नका रूपमा प्रचार गरेको आरोप लागेको छ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर– १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनाव प्रचारका क्रममा बालबालिका प्रयोग गरेको तथा उनीहरूलाई टिसर्ट लगाएर प्रचारमा संलग्न गराएको भन्दै आयोगले आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर– २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेर टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) सँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ।

यसका अतिरिक्त, अनुमति नलिई आचारसंहिता लागू भइसकेपछि अधिवेशन आयोजना गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक संघसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ। शिक्षक सरुवासम्बन्धी विषयमा समेत अर्को एक स्पष्टीकरण जारी गरिएको आयोगले जानकारी दिएको छ।

790

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *