समखबर संबाददाता
काठमाडौँ, १५ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादसहित ६ जनाविरुद्ध बालिका अपहरण गरेको कसुरमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडाध्यक्ष रामानन्दसहित चारजनाविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।
प्रहरीका अनुसार गत २ पुसदेखि बेपत्ता दुर्गाभगवती गाउँपालिका– ४, छतौनाकी १४ वर्षीया बालिका अझै फेला परेकी छैनन् । बालिकालाई छतौनाकै २० वर्षीय दिलीप यादवले भारतको बिहार लिएर गएको प्रहरीको भनाइ छ । बालिका फेला नपरेपछि प्रहरीले दिलीपका बुवा रामाज्ञा राय यादव र उनका साथी राजेश यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीले रामानन्दसहित ६ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको बताए । ‘रामानन्दसहित ६ जनाविरुद्ध अपरहण तथा शरीर बन्धक कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको छ । जसमध्ये दुईजना पक्राउ परेका छन् । बाँकीको खोजीकार्य जारी छ । १४ वर्षीया बालिकाको अवस्था अझै अज्ञात छ । सोही कसुरमा परिवारका सदस्यले उनीहरूविरुद्ध जाहेरी दिएका थिए,’ उनले भने ।
प्रहरीका अनुसार अपहरण कसुरमा पक्राउ पुर्जी जारी भएका रामानन्दसहित दिलीप, शंकर राय यादव, बुचानी भनिने राजेश यादव र अनितादेवी यादव छन् । बालिकालाई छतौनाकै २० वर्षीय दिलीपले गत २ पुस राति मकवानपुरको हेटौँडाबाट भगाएर लगेका थिए । त्यसयता बालिका र दिलीप सम्पर्कमा छैनन् । रामाज्ञा राय दिलीपका बाबु र राजेश उनका साथी हुन् । बालिका परिवारका सदस्यसँगै हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । उनलाई सोही स्थानबाट भगाएर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक उमाशंकर दास गुप्ताले बताए । ‘बालिकालाई २० वर्षीय दिलीपले भगाएको सम्बन्धमा हामीकहाँ जाहेरी परेको थियो । बालिका र युवा अफै फेला पर्न सकेका छैनन् । उनीहरूलाई भगाउन सहयोग गर्ने राजेश यादव र दिलीपको बुवा रामाज्ञा पक्राउ परेका छन् । त्यसबाहेकका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ उनले भने ।
प्रहरीका अनुसार एकाएक सम्पर्कविहीन भएलगत्तै बालिकाका बुवा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहटमातहतको इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए । त्यसलगत्तै प्रहरी बालिका र युवा खोजीमा जुटेको थियो । यही क्रममा दिलीपका बुवा रामाज्ञालाई पक्राउ गरिएको थियो । यसपछि पनि बालिका फेला नपरेपछि नेमलालले घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा जाहेरी दिएका थिए । ‘छोरी बेपत्ता भएको साढे एक महिना हुन लाग्यो । हालसम्म फेला परेकी छैनन् । घटनामा वडाध्यक्ष नै संलग्न छन् । तैपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । म साह्रो पीडामा छु,’ उनले नयाँ पत्रिकासँग भने ।
बुवा नेमलालका अनुसार दिलीपले बालिकालाई भारतको बिहार लगेका छन् । घटनामा दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादको भूमिका शंकास्पद रहेको उनको दाबी छ । उनले भने, ‘छोरी २ पुसदेखि बेपत्ता छिन् । गाउँकै दिलीप यादवले भगाएको सूचना छ । दुवैजना सम्पर्कमा छैनन् । उनीहरूले छोरीलाई बिहार लगेको सूचना छ । सकुशल छन् या तलमाथि केही भयो बुझ्न सकिएको छैन । हामी बडो चिन्तामा छौँ ।’
समखबर संबाददाता