समखबर संबाददाता
काठमाडौं, पुष, १७ । कञ्चनपुरको जगबुढा नदी क्षेत्रमा हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुँदा मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका– १, चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्रनजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बघिनी आमा सँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वनसहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।
वन निकुञ्जको टोलीले बाघको बच्चा उद्धार गर्दा भावी दिनहरूमा बघिनीले गाउँमा आतंक मच्चाउने भन्दै छाडेका थिए । बिहान जिउँदै भेटिएको बाघको बच्चा साँझ मृत फेला परेको हो । अत्यधिक चिसोका कारण मृत्यु भएको स्थानीय एवं सरोकारवालाहरूको भनाइ छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्धारमा गएको तर उद्धार नगरीकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबी गरेका छन् ।
‘बाघको बच्चा हिलो र पानीमा फसेको छ, यो चिसो मौसममा उद्धार गर्न गएको टोली किन फर्कियो ?’ उनले भने, ‘निकुञ्जका कर्मचारीको गैरजिम्मेवारीपनले घटना घटयो ।’ उद्धार गरेर जता डमरुकी आमा गई त्यतैतिरको जंगलमा छाडिदिनुपर्ने वन अधिकृतको तर्फ छ । ‘उद्धारमा जाने टिएडिए खाने अनि यसरी वन्यजन्तु मर्न दिने काम राम्रो होइन, यसबारे वन मन्त्रालयदेखि संरक्षण फोरममा कुरा उठाउँछु,’ उनले भने, ‘मैले घटना थाहा पाएपछि त्यतातिर गएको, तर मलाई सशस्त्र प्रहरीले डेढ–दुई घण्टा रोकिदिएको र आफू पनि वनको हाकिम भएकाले उद्धार गर्ने मेरो दायित्व भनेर गएँ, म जाँदासम्म बच्चा मरिसकेको थियो ।’ वरिष्ठ वन अधिकृत डिसीले बाघको बच्चा उद्धारका लागि निकुञ्ज प्रमुखसँग आफूले भनेको, तर उनले नै त्यो बच्चा मर्न देऊ भनेर जवाफ दिएपछि आफूहरू चिन्तित भएको दाबी गरेका छन् ।
तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको संयोगले मृत्यु भएको बताए । शनिबार मात्रै बाघको आक्रमणबाट पुनर्वास नगरपालिका– ६ की सुना निरौलाको मृत्यु भएको थियो ।
समखबर संबाददाता