समखबर संबाददाता
काठमाडौं, पुष, १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको स्पष्ट पार्दै सबै नेताकार्यकर्तालाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । पछिल्लो समय विशेष माहाधिवेशनको विषयलाई लिएर पार्टीभित्र चर्किएको विवादका बीच देउवाले एकताको सन्देश दिएका हुन् ।
केन्द्रीय समिति बैठक तथा आन्तरिक छलफलका क्रममा देउवाले कांग्रेसजस्तो इतिहास बोकेको पार्टी विभाजनतर्फ जान नहुने उल्लेख गर्दै आन्तरिक मतभेद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताए । उनले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै नेतृत्व र कार्यकर्ताबीच विश्वास कायम गर्न आवश्यक रहेको धारणा राखे ।
यसैबीच, केन्द्रीय समितिका केही सदस्यहरूले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चिन्ता व्यक्त गर्दै सभापति देउवालाई स्थिति सम्हाल्न आग्रह गरेका छन् । उनीहरूले विशेष महाधिवेशनको प्रस्तावले संगठनमा थप अन्योल र असन्तोष बढ्न सक्ने भन्दै समयमै पहल गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।
पार्टीभित्र विवाद चर्किनुको मुख्य कारण महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको मिति घोषणा गर्नु रहेको बताइएको छ । उक्त निर्णयपछि कांग्रेसभित्र पक्ष–विपक्षमा तीव्र बहस सुरु भएको छ भने केही नेताहरूले यसलाई विधानविपरीत र एकताविरुद्धको कदमको रूपमा लिएका छन् ।
महामन्त्रीद्वयको निर्णयपछि पार्टी नेतृत्वमाथि दबाब बढ्दै गएको छ । एक पक्षले विशेष महाधिवेशन आवश्यक भएको तर्क गरिरहेको छ भने अर्को पक्षले यसले पार्टी फुटको बाटो खोल्ने चेतावनी दिएको छ ।
पार्टी एकता जोगाउने चुनौती बढिरहेका बेला सभापति देउवाको पछिल्लो भनाइले कांग्रेसभित्रको विवाद शान्त पार्न कति प्रभाव पार्छ, त्यो भने आगामी दिनमा हुने निर्णय र संवादले निर्धारण गर्ने देखिन्छ ।
समखबर संबाददाता