समखबर संबाददाता


0 प्रतिक्रिया

476

एमाले बारामा चुनावी उम्मेदवार सिफारिस सकियो

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

595

काठमाडौं, पुष, २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ। एमाले मधेस प्रदेश सचिव मनाेज पौडेलका अनुसार बारा क्षेत्र नम्बर ३ मा निर्वाचनमार्फत उम्मेदवार चयन गरिएको हो भने बाँकी तीनवटा क्षेत्रबाट सर्वसम्मतिका आधारमा नाम सिफारिस गरिएको छ।

बारामा चारवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। नेकपा (एमाले) ले बारा क्षेत्र नम्बर १ बाट उम्मेदवारका रूपमा सातजनाको नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कमिटीको भेलाले पूर्वमन्त्री, निवर्तमान संघीय सांसद तथा बहालवाला प्रदेश सभा सदस्यलाई समेट्दै सिफारिस सूची तयार गरेको हो।

सिफारिस हुनेमा निवर्तमान संघीय सांसद अच्युतप्रसाद मैनाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल र जिल्ला कमिटी सदस्य धनमाया चौधरी रहेका छन्। त्यसैगरी निजगढ नगर कमिटी सचिव थानेश्वर सापकोटा ‘अविरल’, कोल्हवी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, सिम्रौनगढ नगर कमिटी सदस्य सुधामादेवी राम तथा बहालवाला प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरीको नाम पनि सिफारिस गरिएको छ।

यस्तै, नेकपा (एमाले) बारा क्षेत्र नम्बर २ को क्षेत्रीय भेलाले सहमतिका आधारमा ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। बारा २ बाट बलवीर चौधरी, अमदेवप्रसाद यादव, मखन पासवान, सतपाल यादव, राजेशप्रसाद साह र कैलाशकिशोर सिंह सिफारिस भएका छन्।

बारा क्षेत्र नम्बर ३ मा भने निर्वाचनमार्फत उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याइएको हो। निर्वाचनमा केपी पक्षकी पूर्वमन्त्री ज्वालाकुमारी साह पराजित भएकी छन्।

नेकपा (एमाले) बारा क्षेत्र नम्बर ३ बाट ईश्वर पक्षका अध्यानन्द पाण्डे शतप्रतिशत मत प्राप्त गर्दै उम्मेदवारका रूपमा सिफारिस भएका छन्। पाण्डेसँगै यम समुल्लाह र सीमा ठकुरीको नाम पनि सिफारिस सूचीमा परेको छ।

निर्वाचनमा केपी पक्षकी पूर्वमन्त्री ज्वालाकुमारी साहले जम्मा चार मत मात्र प्राप्त गरेपछि सिफारिस प्रक्रियाबाट बाहिरिएकी छन्। त्यसैगरी केपी पक्षकै टिना सुवेदीले एक मत पनि प्राप्त गर्न नसकेकी हुन्। टिना सुवेदी बारा क्षेत्र नम्बर १ का निवर्तमान संघीय सांसद अच्युतप्रसाद मैनालीकी श्रीमती हुन्।

यस्तै, नेकपा (एमाले) बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलाले सहमतिका आधारमा एक महिलासहित तीनजनाको नाम उम्मेदवार सिफारिस गरेको छ। सिफारिस सूचीमा किसान श्रेष्ठ, अमर यादव र सीता गुरुङ रहेका छन्।

595

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *