समखबर संबाददाता
काठमाडौं, पुष, २४ । कांग्रेस महामन्त्री गगनकुमार थापाले सभापति बन्न नभई पार्टीलाई नयाँ परिस्थितिमा उभिने ठाउँ बनाउन विशेष महाधिवेशनमा जानुपर्ने अवस्था भएको बताएका छन् । बुधबार बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा थापाले भने, ‘हामीलाई सभापति बन्नु छैन । तपाईंहरू जसलाई बन्नुछ बन्नुस् । डा. शेखर कोइरालालाई बन्नुछ, विशेष महाधिवेशनबाट सभापति बन्नुस् ।’
थापाले कारोबारी राजनीतिलाई समाजले इन्कार गरिसकेको भन्दै २३ र २४ भदौको घटनाको पृष्ठभूमि, नागरिकको रिस र आवाजलाई सम्बोधन गर्नुपर्ने बताए । ‘त्यस घटनाअघि हामी ठिक ठाउँमा थिएनौँ, हाम्रो गति र मति ठिक ठाउँमा थिएन, कसैलाई हामी त्यसअघि पनि ठिक थियौँ, अब पनि ठिक छौँ भन्ने लागेको छ । हामी अब सच्चिनुपर्छ,’ थापाले भने ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई घेराबन्दी गरिएको आरोप लगाए । ‘पार्टीमा विधान र प्रक्रिया मिच्दै जाने क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई किनारा लगाउने, घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने, ‘हामीलाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ । पार्टी, समर्थक र शुभेच्छुकहरूको घेरा ठुलो छ । हामीलाई सानो घेराबाट ठुलो घेरामा जान बाध्य पारिराख्नुभएको छ ।’
यस्तो छ विशेष महाधिवेशनको तयारी
महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन २७ पुसमा भृकुटीमण्डपमा सुुरु हुनेछ । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापति देउवा र कार्यवाहक सभापति सहभागी नभए विशेष महाधिवेशनको अध्यक्षता पार्टीका महामन्त्री थापा र शर्मामध्ये एकजनाले गर्ने बताए ।
विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति घोषणा गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समितिहरू गठन भएका छन् । विशेष महाधिवेशन आयोजकहरूका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले एक हजार एकसदस्यीय मूल जनपरिचालन समिति गठन भएको बताए ।
समखबर संबाददाता