समखबर संबाददाता
काठमाडौं, ९ चैत। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।चुनावी पराजयको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका थिए।
उक्त राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकमा दुई दिनसम्म छलफल भएको थियो। केन्द्रीय समितिमा धारणा राखेका सबैजसो केन्द्रीय सदस्यले सभापतिबाट थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने बताएका थिए।आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले निर्वाचनमा पराजयको कारण संरचनागत समस्या र नियन्त्रण बाहिरका परिस्थितिलाई आधार कारण मानेको छ।
‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो,’ प्रवक्ता चालिसेले भने, ‘राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको हो।’
गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बनेका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो। अब थापाकै नेतृत्वमा पार्टीलाई आगामी १५ औं महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने पनि उनले बताए।
बैठकपछि प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २६(१) बमोजिम २०८२ चैत्र ३ गते दिनु भएको राजीनामाका सम्बन्धमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको, देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रुपमा उहाँले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’
समखबर संबाददाता