समखबर संबाददाता
काठमाडौं, पुष, २८ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटार चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४च ६४७४ नम्बरको एम्बुलेन्सलाई भेडेटार चोकमा रोक्न खोज्दा चालकले प्रहरीलाई अवज्ञा गर्दै ब्यारिकेटसमेत लडाएर भाग्ने प्रयास गरेको थियो। पछि प्रहरी टोलीले एम्बुलेन्सलाई भेडेटार गेटमा रोकेका थिए, तर चालक फरार भएका छन्।
एम्बुलेन्सको चेकजाँच गर्दा १५ वटा पोका, कुल तौल ४५९ किलो ९६५ ग्राम, सेतो बोरामा राखेर कालो प्लास्टिकले बेरेर प्याक गरिएको लागुऔषध गाँजा फेला परेको छ।
प्रहरीले लागुऔषधसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ र घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ। साथै फरार चालक र सवारीधनीको खोजतलास भइरहेको छ।
समखबर संबाददाता