समखबर संबाददाता


0 प्रतिक्रिया

388

१० बुँदे घोषणापत्र तयारीमा कांग्रेस : महामन्त्री पौडेल

३ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

485

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गर्दै ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै उनले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने स्पष्ट पारे ।

दलहरूले लामा घोषणापत्र ल्याउने, तर ती घोषणापत्रमा लेखिएका कुरा पूरा नहुने अवस्था रहेकाले कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने तयारी गरेको पनि पौडेलले जानकारी दिए ।

‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरूलाई हामीले दलालको ट्याग लगाउनुहुँदैन, यो भाष्यको अन्त्य हुनुपर्छ । उनीहरूले रोजगारी सिर्जना गर्छन् र राज्यलाई तिर्ने कर ठुलो हुन्छ,’ पौडेलले भने, ‘व्यवसायीले ठुलो मिहिनेत गरेर पुँजी निर्माण गरेका हुन्छन् । पुँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’

पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सिर्जना गर्ने खाका दलहरूको घोषणापत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी ती क्षेत्रलाई अर्थतन्त्रसँग जोड्ने योजना पनि घोषणापत्रमा समावेश हुने उनको भनाइ छ ।

‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टका विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौँ । छलफल चलाइरहेका छौँ,’ उनले भने, ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो, गाली गरेर होइन ।’

राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भएकाले आर्थिक दृष्टिकोणमा दलहरू स्पष्ट हुनुपर्ने र कांग्रेसले यसलाई आत्मसात् गरेको पौडेलले बताए ।

‘यसअघिका घोषणापत्रमा धेरै लेख्यौँ, तर कार्यान्वयन गर्न सकेनौँ । अब भनिएका र गरिएका वाचा कार्यान्वयन हुने गरी एजेन्डा आउँछन् । देशका लागि १० एजेन्डा भनेर नेपाली कांग्रेसले तयारी गरेको छ । हाम्रा सबै आसय यसैमा समेट्छौँ । जनतालाई चित्त बुझ्नेगरी ल्याउँछौँ । हामी भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहन्छौँ,’ उनले भने ।

अर्थतन्त्रलाई डिजिटलाइजेसन गरेर मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनले बताए ।

थोरै पुँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई कसरी बढाउन सकिन्छ भन्ने सोचसहित योजना बनाइरहेको पनि उनले बताए । उत्पादन निजी क्षेत्रले गर्ने भएकाले यसलाई खुम्च्याउन नहुने उनको धारणा छ ।

‘शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने काम निजी क्षेत्रले गर्ने हो,’ पौडेलले भने, ‘निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचीन र पुरातन कुरा गरेर केही अर्थ छैन ।’ चीन र भारतलाई लक्षित गर्दै पौडेलले छिमेकी तथा अन्य देशसँगको सम्बन्धबारे राष्ट्रिय धारणा बनाउनुपर्ने बताए । यसका लागि सबै दल तयार हुनुपर्ने उनको भनाइ छ । नयाँ कानुनहरू व्यवसायमैत्री बनाउन निजी क्षेत्रले स्पष्ट रूपमा आफ्ना कुरा राख्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसात् गर्नुपर्ने उनले बताए ।

485

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *