समखबर संबाददाता


0 प्रतिक्रिया

512

अलपत्र सहजा पुलकै कारण हुलाकी सडकमा दुर्घटना दोहोरियो

२ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

640

काठमाडौँ, २६ माघ । पूर्व पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको औरही गाउँपालिका ४ इँटाटारमा अलपत्र रहेको सहजा खोलाको पुलमा आइतबार राती पुनः दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पूर्वबाट सिरहातर्फ आउँदै गरेको बी एबी ७८२१ नम्बरको कार आइतबार राती करिब १२ बजेतिर दुर्घटना भएको हो ।

इँटाटार गाउँ पार गरेलगत्तै सहजामा दक्षिणतर्फ बनाइएको डाइभर्सनतर्फ मोड्नु पर्नेमा थाहा नभएर सिधै जाँदा कार खोलामा खसेको हुन सक्ने अनुमान गरिएको प्रहीले जनाएको छ । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने करिब २२ वर्षीय अभिषेककुमार राय, ३९ वर्षीया दिपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिती पटेल सामान्य घाइते भई सिरहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीले डाइभर्सन खण्डबाट आवतजावत अबरुद्ध गरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए । स्थानीयले पुल निर्माण अलपत्र छोड्ने निर्माण कम्पनीलाई कारबाहीसहित तत्काल पुल निर्माण थालनी, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चिन्ह राख्न र डाइभर्सनस्थलमा बलियो घेरा र रातीको समयमा सडक बत्तीको व्यवस्था गरिनु पर्ने मागसहित सडक अबरुद्ध गरेको स्थानीय अगुवा युवा सन्तोष यादवले जानकारी दिए ।

दुई महिनामा तीन दुर्घटना, एक प्रहरीको मृत्यु
१६ मंसिर २०७९ मा भएको ठेक्का सम्झौता अनुसार कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सहजाको आरसिसी पुल १५ मंसिर २०८१ मा सम्पन्न हुनु पर्ने भएपनि पुलको दुवैतर्फको पाइल ढलानपछि अलपत्र छोडिंदा पछिल्लो दुई महिनाको अवधिमा भएका तीन वटा दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ । गत २७ कात्तिकको राती जिल्ला प्रहरी कार्यालय सिरहाबाट ड्युटीमा जाने क्रममा सोही खोलामा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी जवान करिब २६ वर्षीय सागर हास्दाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट २८ कात्तिकको राती सोही ठाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै बा १५ च ३६७ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कार चालक धनुषाको बटेश्वर गाउँपालिका ४ बस्ने करिब ३० वर्षका राकेश यादव घाइते भएका थिए ।

हुलाकी सडकअन्तर्गत सिरहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको पुल निर्माण अलपत्र हुँदा हुलाकी सडक हुँदै ओहोरदोहोर गर्ने यात्रु र स्थानीय सास्ती झेल्न बाध्य हुँदै आएका छन् । औैरही गाउँ.पालिका ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार ठेकेदार कम्पनीले खोलाको पुल अलपत्र छोडेपछि सडक हुँदै ओहोरदोहोर गर्नेहरु मनसुनी वर्षामा वारीपारी गर्न समेत सकस झेल्दै आइरहेका छन् । ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले ठेक्का लिएपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको पुल अलपत्र हुँदा दिनहुँ सास्तीसँगै दिनहुँ सानातिना दुर्घटना भइरहेको स्थानीय बताउँछन् ।

सुगमले सहजाको पुलसहित औरही गाउँपालिका १ दरहिया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट गरी भ्याट समेत ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का सकार गरेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । उक्त ठेक्का रकमको मोबिलाइजेसनवापत् पाँच प्रतिशत र गरिएको कामवापत् भ्याटसहित तीन करोड ४० लाख ७३ हजार दुई सय ५० रुपैयाँ एक पैसा ठेकेदार बम्पनीले भुक्तानी लिइसकेको जनाइएको छ ।

640

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *