समखबर संबाददाता
काठमाडौँ, २८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह चुनावी अभियानका सिलसिलामा बारा र पर्सा जिल्लाको भ्रमणमा छन्। मंगलबारदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा सक्रिय रहेका शाहले औपचारिक कार्यक्रम तय नगरी जनसम्पर्कलाई प्राथमिकता दिएका छन्।
भ्रमणको सुरुवात उनले बाराको निजगढबाट गरेका हुन्। निजगढमा स्थानीय समर्थक र सर्वसाधारणसँग भेटघाट तथा छलफल गरेपछि शाह कलैया हुँदै पर्साको वीरगञ्ज पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिमरा फर्किने कार्यतालिका रहेको स्रोतले जनाएको छ।
शाहले यसअघि नै मधेस प्रदेशका जिल्लामा केन्द्रित अभियान सञ्चालन गर्ने बताएका थिए। यद्यपि, यस पटकको भ्रमणमा औपचारिक सभा, कोणसभा वा विशेष कार्यक्रम नराखिएको जनाइएको छ। पार्टी स्रोतका अनुसार उनले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, सुझाव संकलन र संगठन सुदृढीकरणमा जोड दिनेछन्।
चुनावी माहोल तातिँदै जाँदा रास्वपाले मधेस प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअनुसार शीर्ष नेताको जिल्ला–जिल्ला भ्रमणलाई तीव्रता दिएको छ।
समखबर संबाददाता