समखबर संवाददाता
‘ब्युटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेकी युवती यतिबेला चर्चामा छिन् । आजभन्दा आठ वर्ष अगाडि ‘मिस ग्लोबल’ नामक ‘ब्युटी प्याजेन्ट’ का क्रममा आफू बलात्कृत भएको भन्दै ती युवतीले भिडियो सार्वजनिक गरेपछि यो विषयले अहिले तरंग ल्याएको छ ।यसरी बलात्कृत भएको भन्दै आरोप लगाउने युवती प्रहरीको सम्पर्कमा छिन् । बुधबार उनले भिडियो सार्वजनिक गर्दै उक्त आरोप लगाएकी थिइन् । उनी शुक्रबार मात्रै प्रहरीको सम्पर्कमा आएकी हुन् । यद्यपि प्रहरीले उनीलाई भेटाइसकेको छैन ।
घटना सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि प्रहरी मूकदर्शक बनिरहेको छ । यसमा पीडित सम्पर्कमा आएर उजुरी दिएपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।
नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी किटानी जाहेरी परेपछि थप अनुन्धान प्रक्रिया अघि बढाउने बताउँछन् । तर, सर्वोच्च अदालतले आजभन्दा ६ वर्ष अगाडि एउटा नजिर बसाएको देखिन्छ । जुन नजिरको आधारमा प्रहरीले उजुरी नपरे पनि बलात्कारको घटनामा अनुसन्धान थालेर मुद्दा चलाउनुपर्ने आदेश थियो ।
निर्णय नम्बर ९६२३ जबर्जस्ती करणीसम्बन्धीको नजिरमा तत्कालीन न्यायाधीशहरू देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले जबर्जस्ती करणी जस्तो मुद्दामा हदम्यादको परम्परागत मान्यतालाई कठोरताका साथ अंगीकार गरिरहनु न्यायोचित नहुने आदेश थियो । प्रहरीले भने अहिले न उजुरी परेको छ, न त त्यो मुद्दाको हदम्याद बाँकी रहेको भन्दै यसलाई सामान्य रूपमा लिएको देखिन्छ ।
समखबर संवाददाता