समखबर संबाददाता
काठमाडौँ । लामो समयपछि सर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ। नियमित इजलासदेखि प्रशासनिक कामकाजसम्म सम्पूर्ण गतिविधि स्थगित भएका कारण प्रभावित सेवा अब नियमित हुने तयारी गरिएको सर्वोच्च स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले मङ्सिर १ गतेदेखि सबै प्रकारका इजलासहरू सञ्चालन गर्ने निर्णय गरेको छ। प्रमुख न्यायाधीशको नेतृत्वमा बसेको न्यायाधीश परिषद्को बैठकले आवश्यक तयारी पूरा भएपछि अदालतलाई पूर्णरुपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।
अदालतका अनुसार हालसम्म आंशिक रूपमा मात्रै इजलासहरू सञ्चालन भइरहेका थिए। केही कारणले स्थगित भएका मुद्दाहरूलाई प्राथमिकता दिने गरी नयाँ इजलास तालिका तयार पारिएको छ।
प्रवक्ता विमला ढुंगानाका अनुसार, “मङ्सिर १ देखि सर्वोच्च अदालतको सम्पूर्ण इजलास, प्रशासन र दर्ता शाखा नियमित रूपमा सञ्चालन हुनेछन्। न्यायप्रक्रियामा ढिलाइ भएका मुद्दाहरूलाई प्राथमिकता दिइनेछ।”
गत केही महिनायता न्यायाधीशहरूको अनुपस्थिती, प्रशासनिक समस्या र आन्तरिक तालमेल अभावका कारण सर्वोच्चको कामकाज प्रभावित भएको थियो। पूर्ण सञ्चालनसँगै अब सेवाग्राहीले नियमित रूपमा मुद्दा दर्ता, पेशी र फैसलाको प्रक्रिया अघि बढाउन सक्नेछन्।
न्याय परिषद्का अधिकारीहरूले भने सर्वोच्च अदालतको नियमित सञ्चालनले देशभरका अदालतहरूको कामकाजमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
समखबर संबाददाता