समखबर संबाददाता


0 प्रतिक्रिया

792

एमाले–कांग्रेस महाधिवेशनले कोशी अधिवेशन अन्योलमा

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

990

काठमाडौं,मंसिर,२४ । कोशी सरकारले मंसिर तेस्रो साताभित्र प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले मंसिर तेस्रो साताभित्र जेजस्तो अवस्थामा भए पनि हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । तर, विभिन्न कारणले प्रदेश सभा बैठक बस्ने संकेत देखिएको छैन ।

सरकारले २७ मंसिरदेखि सुरु हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशन र लगत्तै पुसमा कांग्रेसको महाधिवेशनलाई कारण देखाउँदै हिउँदे अधिवेशन तत्काल सुरु गराउन चाहेको छैन । मुख्यमन्त्री कार्की एमाले नेता भएकाले उनी अहिले महाधिवेशन प्रतिनिधि छनोट र व्यवस्थापनमा व्यस्त छन् । हाल मुख्यमन्त्री, मन्त्री र सांसदहरू काठमाडौंकेन्द्रित भइसकेका छन् । कांग्रेस पनि आन्तरिक अधिवेशनको तयारीमा जुटेको छ । कांग्रेसका मन्त्री र सांसदहरू क्रियाशील सदस्यता वितरणमा व्यस्त छन् ।

जेन–जी आन्दोलनपछि विराटनगरको देवकोटा चोकबाट मोरङको कटहरी– १ स्थित कृषि थोक बजारपरिसरमा सरेको कोशी प्रदेश सभाको सचिवालय र बैठक बस्ने भवन अझै स्तरोन्नति भएको छैन । स्तरोन्नतिको जिम्मा पाएको पूर्वाधार विकास तथा भौतिक निर्माण मन्त्रालयले टेन्डर नै आह्वान गरेको छैन । जसले गर्दा प्रदेश सभाको बैठक बस्ने टहरो अझै ह्वांगै छ । जेन–जी आन्दोलनपछि सबै पुनर्निर्माणका काम कोटेसनबाट गर्न नपाइने र टेन्डर नै गर्नुपर्ने नियम लागू गरेपछि प्रदेश सभा सचिवालयले स्तरोन्नति गर्न नपाएको हो ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तत्काल प्रदेश सभा सचिवालय परिसर र संसद् कक्ष स्तरोन्नति गर्न ढिलाइ भए पनि एमाले र कांग्रेसले नै माघभन्दा अगाडि अधिवेशन बोलाउन नचाहकाले मंसिरको भाका टरेको बताए । ‘दलहरूको महाधिवेशन र व्यस्तताका कारण तत्काल बैठक बस्न सकिने अवस्था छैन । भवन वा कुर्सीको अभाव प्राविधिक पाटो भए पनि मुख्य कारण राजनीतिक नै हो,’ उनले भने ।

कोशीका मुख्यमन्त्री कार्की र मन्त्रीहरूले जेन–जी आन्दोलनपछि आगजनी भएर ध्वस्त भएको प्रदेश सभा भवनको खरानीको थुप्रोमै संसद् बैठक बोलाएर संकल्प प्रस्ताव गर्ने चाहना प्रतिकूल अवस्थाले पूरा नभएको भन्दै मंसिर तेस्रो साताभित्र हिउँदे अधिवेशन बोलाउने सार्वजनिक प्रतिबद्धता गरेका थिए । सरकारका प्रवक्ता भण्डारीले निर्माणको काम ढिला भएकाले अधिवेशन बोलाउने काम केही समय पर सरेको निर्माण सम्पन्न भएपछि चाँडै अधिवेशन आह्वान गराउने बताए । हाल कटहरीको कृषि थोक बजारमा सरेको कोशी प्रदेश सभाको सचिवालयमा सभामुख, उपसभामुख, सचिव र कर्मचारीहरूको कार्यालय मात्र सञ्चालन छ ।

साबिक माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले–कांग्रेस गठबन्धन सरकार असफल भएकाले पुनर्निर्माणका लागि ठेक्कासमेत लगाउन नसकेको आरोप लगाए । आङ्बोले मन्त्री र मुख्यमन्त्रीहरूबिच नै बोलचाल हुन छाडेको, विभिन्न अनियमितताका काण्डले गर्दा सरकार आफैँ समस्यामा परेकाले संसद्बाट भागिरहेको दाबी गरे । ‘सरकार असफल भइसकेकाले उहाँहरू संसद् फेस गर्नबाट तर्किरहनुभएको छ । उहाँहरू नै खरानीको थुप्रोबाट संकल्प प्रस्ताव गराउन पाएनौँ, अब जे–जस्तो अवस्थामा छ त्यही अवस्थामा संसद् बोलाउँछौँ भनेर सबैलाई ‘इमोस्नल ब्लाकमेलिङ’ गर्दै हिँडिरहनुभएको छ,’ उनले भने ।

स्तरोन्नतिका लागि भौतिक मन्त्रालयले माग्यो पाँच करोड
प्रदेश सभा परिसरको स्तरोन्नतिका लागि भौतिक पूर्वाधार मन्त्रालयले पाँच करोड ४० लाख रुपैयाँ बजेट माग गरेको छ । भौतिकले लागत अनुमान (इस्टिमेट)सहितको फाइल आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयका सचिव कोषहरि निरौलाले प्रदेश सभाको भवन मर्मतका लागि मागिएको बजेटका विषयमा छलफल गरेर चाँडै बजेट निकासा गराउने बताए । ‘फाइल २२ मंसिरमा बल्ल आइपुगेको छ, हेरेर चाँडै आवश्यक बजेट निकासा गराउँछौँ,’ उनले भने ।

भौतिक मन्त्रालयले तयार पारेको विवरणअनुसार तरकारी बजारको संरचनालाई संसद् भवनको रूप दिन विभिन्न चार शीर्षकमा बजेट बाँडफाँड गरिएको छ । जसमा हल मर्मत कार्यका लागि दुई करोड ८५ लाख ६४ हजार ६२४ लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । यस्तै, बैठकका लागि सभाहल निर्माण तथा मर्मत गर्न दुई करोड १३ लाख ५७ हजार ५५६ लाग्नेछ । मुख्य भवन तथा क्यान्टिन मर्मतका लागि २७ लाख ९९ हजार आठ सय २७ र सेन्ट्री पोस्ट र प्यासेज वाक वे निर्माणमा १३ लाख दुई हजार ७८३ लाग्ने मन्त्रालयले जनाएको छ ।

990

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *