समखबर संवाददाता
काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयनको प्रक्रिया अघि बढाइएको छ ।
पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दिने कार्यक्रम छ ।
दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन, नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यसपछि अपराह्न चार बजेदेखि पाँच बजेसम्म मतदानको कार्यक्रम राखिएको निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका छन् । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट जितेको थियो ।
समखबर संवाददाता