
समखबर संवाददाता
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार अभियानलाई तिव्र बनाउदैँ लगेको छ ।
सरकारले निर्वाचन मिति घोषणा गरेपछि गत फागुन २८ देखि चैत २ सम्म बसेको नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने निर्णय लिएको थियो ।
केन्द्रीय समिति बैठक लगत्तै बसेको बागमती प्रदेश बैठकले जिल्ला जिल्लामा विविध कार्यक्रम आयोजना गरिरहेको छ । प्रदेश भित्र रहेको सबै जिल्लाहरूमा स्थानीय निर्वाचन बहिष्कार लेखिएको पोस्टर र स्थानीय निर्वाचन बहिष्कार किन ? किन भने- वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको, लगायतका ८ वटा बुदामा समेटिएको पर्चा वितरण गरी, पाष्टर टाँसी निर्वाचन बहिस्कारमा लाग्न आमजनसमुदाय माझ अपिल गर्दै आइरहेको छ ।
रसुवामा पनि चुनाव बहिष्कार कार्यक्रम गरेको छ । सोमबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले रसुवाको सदरमुकाम धुन्चे लगाएत आसपासका विभिन्न स्थानमा पोष्टर टासेर, पर्चा बाँडेर चुनाव बहिष्कार कार्यक्रम गरेको हो ।
त्यस्तै, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायत विभिन्न जिल्लामा पर्चा वितरण, पोष्टर टाँस्ने , ब्यानर टाङ्ने र आमसभा गरेर निरन्तर चुनाव बहिष्कार कार्यक्रम गर्दै आएका छन् । जनतालाई बिगतमा झुक्याएर राष्ट्रघाती एम.सी.सी पारित गरेकोले स्थानीय चुनाव जनताको हितको लागि नभएको भन्दै चुनाव बहिस्कारमा लाग्न आमजनसमुदायलाई अपिल गर्दै आइरहेको छ ।


समखबर संवाददाता 

