समखबर संबाददाता


0 प्रतिक्रिया

672

हँसाउने अंशाको मृत्युले मधेश रुवायो : दलित महिला हिंसामा राज्यको मौनता

४ महिना अगाडि
काठमाडाैँ
समखबर संबाददाता

840


काठमाडाैं, असार १२ । हिल्यै हास्न नछाड्ने ‘कलकतिया बाली’ सिरियलकी लोकप्रिय पात्र अंशा सदा अब केवल पुराना भिडियोमा मात्रै देखिनेछिन्। २१ वर्षीया अंशा सोमबार राति आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि मधेशमा शोकको लहर मात्र चलेन, दलित महिलामाथिको हिंसा र राज्यको मौनताप्रति आक्रोश पनि चुलिएको छ।

अंशा सदा मुसहर समुदायकी छिन्। उनले युट्युबमार्फत आफ्नो हास्य अभिनयले हजारौंलाई हँसाइन्, मनोरञ्जन दिइन्। उनी ‘कलकतिया बाली’ सिरियलमार्फत चर्चामा आएकी थिइन्। तर अब उनी जीवनका पर्दाबाट सधैँका लागि ओझेलमा परेकी छन्।

आत्महत्या कि हत्या?

८ असार राति उनी जनकपुरधाम–१५ स्थित घरको भित्रि कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिइन्। प्रहरीको प्रारम्भिक धारणा आत्महत्या भए पनि घटनाको स्वरूप र पृष्ठभूमिले यसलाई रहस्यमय बनाएको छ। घटनास्थलको ढोका भित्रबाट बन्द थियो, शव तत्काल पोस्टमार्टमका लागि पठाइएको थियो।

धनुषा प्रहरीले अंशा बस्दै आएको घरमा रहेका डिभाइसहरू नियन्त्रणमा लिएको र अनुसन्धान सुरु गरिएको जनाएको छ। उनका श्रीमान् अविनाश झा ‘कलकतिया बाली’ सिरियलकै निर्देशक तथा कलाकार हुन्। विवाह भएको मात्र ६ महिना भएको थियो।

अन्तरजातीय विवाह, अन्तरन्यायिक चुप्पी

ब्राह्मण परिवारका अविनाशले दलित समुदायकी अंशासँग विवाह गरेपछि सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका थिए। तर त्यो ‘साहसी प्रेम’ लामो टिक्न सकेन। अंशाको मृत्युपछि सामाजिक न्यायको सवाल फेरि सतहमा आएको छ। अन्तरजातीय विवाह गरेकै कारण उनी मानसिक तनावमा थिइन् वा हिंसामा परेकी थिइन् भन्ने प्रश्न उठिरहेका छन्।

रिंकु सदा पनि, अंशा सदा पनि

अंशाको घटना एक्लो छैन। सिरहा नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ महिनामा सामूहिक बलात्कारपछि मृत भेटिएकी थिइन्। उनको उजुरी फिर्ता गराउन गाउँमै ‘पञ्चायत’ बसेको थियो। त्यही पञ्चायती मिलापत्र अस्वीकार गरेपछि केही दिनमै उनी पनि झुन्डिएको अवस्थामा फेला परिन्।

अंशा र रिंकु दुवै मुसहर समुदायकी हुन्। दुवैलाई न्याय मिलेको छैन। दुवै घटनामा राज्य संयन्त्रको चुप्पी, प्रहरी अनुसन्धानको ढिलाइ, र अभियुक्तमाथि कारबाहीको अभाव देखिन्छ।

“संवेदनहीन राज्य”

दलित अधिकारकर्मीहरू भन्छन्, “यो घटनाहरू आत्महत्या होइन, सामाजिक बहिष्कार र जातीय विभेदबाट सिर्जित हिंसाका पराकाष्ठा हुन्।”
मानवअधिकारकर्मी ममता पासवान भन्छिन्, “दलित महिला हुने बित्तिकै राज्यको चासो अन्त्य हुन्छ। अभियुक्त उम्कन्छ, पीडितको आवाज हराउँछ।”

के यति सस्तो छ दलित महिलाको जीवन?

अंशाको मृत्युले मधेशलाई गहिरो घाउ दिएको छ। अभिनयले समाजलाई हँसाउने ती युवतीको अन्त्यले प्रश्न उठाएको छ—के दलित महिलाको जीवन यति सस्तो छ? न्याय खोज्ने आवाजलाई थुन्ने, दबाउने र अन्त्य गर्ने क्रम कहिले रोकिन्छ?

जबसम्म यस्ता घटनामा निष्पक्ष अनुसन्धान, समयमै कारबाही र पीडित पक्षलाई सशक्त कानुनी सहयोग हुँदैन, तबसम्म ‘आत्महत्या’ नामको पर्दाले हिंसालाई ढाकिरहनेछ।

साभारः onelinekhabar.com

840

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.