समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

स्टाालिन बारे माओ (भ्रम र यथार्थ)

३ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.7K

का. स्टालिनको प्रश्न विश्वव्यापी महत्वको प्रश्न हो । त्यसको प्रभाव हरेक देशका सबै वर्गहरुमा पर्दछ । र, त्यो अहिले पनि ज्यादै वादविवादको विषय हो । बेग्लाबेग्लै राजनीतिक पार्टीहरु र राजनीतिक समूहहरुका त्यस सम्बन्धी बेग्लाबेग्लै राय छन् । वर्तमान शताब्दीमा त्यस प्रश्नका सम्बन्धमा अन्तिम निर्णय हुन नसक्नु पनि सम्भव छ तर अन्तर्राष्ट्रिय मजदूरवर्ग र क्रान्तिकारी जनसमुदायको ठूलो भागले स्टालिनको पूर्ण निषेध गर्ने कुरालाई अस्वीकार गर्दछ तथा बढी भन्दा बढी मात्रामा उहाँको स्मृति आफ्नो हृदयमा सँगालेका छन् भन्ने विषयमा करिब करिब एउटै राय छ । त्यो कुरा सोभियत सङ्घमाथि समेत लागू हुन्छ । हाम्रो मतभेद खालि सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वका केही व्यक्तिहरुसँग मात्र छ । क्रान्तिकारी कार्य अगाडि बढाउनका लागि हामीले उनीहरुलाई सम्झाउन बुझाउन चाहन्छौँ । यो लेख त्यही उद्देश्यले हामीहरु लेखिरहेका छौँ ।
चीनिया कम्युनिष्ट पार्टीको सधैँ के दृष्टिकोण रहेको छ भने “व्यक्ति पूजाका विरुद्ध” यद्यपि खुलापत्रमा छलफलको सट्टामा गाली गरिएको छ तापनि हामीले त्यसको प्रत्युत्तर सैद्धान्तिक तर्कहरु र थुप्रै तथ्यहरुद्वारा दिनु राम्रो ठान्दछौँ ।

महान् सोभियत सङ्घ सर्वहारा अधिनायकत्वको पहिलो राज्य थियो । शुरुमा त्यस राज्यका पार्टी र सरकारका प्रमुख लेनिन हुनुहुन्थ्यो । लेनिनको देहान्तपछि त्यो स्थान स्टालिनले लिनु भयो ।
लेनिनको देहान्तपछि स्टालिन खालि सोभियत सङ्घको कम्युनिष्ट पार्टी र सरकारको मात्र नभएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको समेत सर्वमान्य नेता बन्नु भयो ।

अक्टोबर क्रान्तिद्वारा पहिलो समाजवादी राज्यको उद्घाटन भएको अहिले ४६ वर्ष मात्र भयो । त्यसमध्ये लगभग ३० वर्षसम्म उहाँ त्यस राज्यका प्रमुख नेता रहनु भयो । सर्वहारा अधिनायकत्वको इतिहास होस् वा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहास होस्, त्यसमा स्टालिनका गतिविधिहरुको स्थान अत्यन्त महत्वपूर्ण छ ।

चीनिया कम्युनिष्ट पार्टीको सधैँ के दृष्टिकोण रहेको छ भने स्टालिनको कस्तो मूल्याङ्कन गर्ने र उहाँप्रति कस्तो रवैया अपनाउने भन्ने प्रश्न खालि स्टालिनको मूल्याङ्कनको प्रश्न मात्र नभएर त्यो भन्दा ज्यादै महत्वपूर्ण प्रश्न लेनिनको देहान्तपछिको सर्वहारा अधिनायकत्वका ऐतिहासिक अनुभवहरु तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको कस्तो निचोड निकाल्ने भन्ने प्रश्न हो ।
का. ख्रश्चोवले सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा स्टालिनलाई पूर्णत विषेध गरे । सम्पूर्ण अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसित सम्बन्धित त्यस प्रकारको सैद्धान्तिक विषयमा उनले भाइचारा पार्टीहरुसँग रायसल्लाह गरेनन् भने अरुहरुमाथि आफ्नो विचार जस्ताको तस्तै लाद्ने प्रयत्न गरे । यदि स्टालिनका बारेमा कुनै पार्टीको मूल्याङ्कन सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वद्वारा गरिएको मूल्याङ्कन भन्दा बेग्लै भयो भने उसमाथि “व्यक्ति पूजाको पृष्ठपोषक” तथा सोभियत कम्युनिष्ट पार्टीको “आन्तरिक प्रश्नमा हस्तक्षेप” गरेको दोष लगाइन्छ । तर जोसुकैले पनि के कुरा अस्वीकार गर्न सक्दैन भने सर्वहारा अधिनायकत्वको पहिलो राज्यका ऐतिहासिक अनुभवहरुको अन्तर्राष्ट्रिय महत्व छ तथा स्टालिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नेता हुनुहुन्थ्यो । फलस्वरुप जोसुकैले के कुरा पनि अस्वीकार गर्न सक्दैन भने स्टालिनको मूल्याङ्कनको प्रश्न एउटा महत्वपूर्ण सैद्धान्तिक प्रश्न हो र त्यसको सम्बन्ध अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसित छ । अनि, कुन आधारमा सोभियत कम्युनिष्ट पार्टीका नेता र अरु भाइचारा पार्टीहरुले स्टालिनको ठोस विश्लेषण र मूल्याङ्कन गर्नका लागि रोक्न सक्दछन् ?

चीनिया कम्युनिष्ट पार्टीले अवश्य के कुरामा जोड दिन्छ भने स्टालिनका असल कामहरु तथा गल्ती कमजोरीहरुको विश्लेषण ऐतिहासिक भौतिकवादी तरिकाबाट तथा ऐतिहासिक घटनाक्रमहरुलाई सही तथ्यको रुपमा प्रस्तुत गरेर समग्र वस्तुगत र वैज्ञानिक तरिकाबाट गर्नु पर्दछ । र, यसले ऐतिहासिक आदर्शवादी तरिकाबाट तथा इतिहासलाई मनपरी ढङ्गले तोडमोड गरेर त्यसलाई हेरफेर गरेर स्टालिनलाई मनोगतवादी र एकपक्षीय तरिकाबाट पूर्ण निषेध गर्नु हुँदैन भनेर विरोध गरिरहेको छ ।

चीनिया कम्युनिष्ट पार्टीको सधैँ के दृष्टिकोण रहेको छ भने स्टालिनले अवश्य गल्ती कमजोरीहरु गर्नु भएको छ । ती गल्तीका आधारहरु वैचारिक, सामाजिक र ऐतिहासिक थिए । स्टालिनले वास्तवमा जे–जे गल्ती कमजोरीहरु गर्नु भएको छ, तिनको आलोचना गर्नु आवश्यक छ र त्यो काम सही रुखकासाथ र सही तरिकाबाट गर्नु पर्दछ भने जे–जे गल्ती कमजोरीहरुलाई मनपरी तरिकाले उहाँको नामसित जोडिदिइन्छ, ती गल्ती कमजोरीहरुका लागि उहाँको आलोचना गर्नु हुँदैन । गलत रुखकासाथ र गलत तरिकाबाट गरिएका स्टालिनका अनुचित आलोचनाहरुको हामीहरुले सधैँ विरोध गरेका छौँ ।

स्टालिनले लेनिनको जीवनकालमा जारशाहीका विरुद्ध सङ्घर्ष गर्नु भयो र माक्र्सवादको प्रचार प्रशार गर्नु भयो । लेनिनले नेतृत्व गर्नु भएको बोल्सेभिक पार्टीको केन्द्रीय समितिको सदस्य बनिसकेपछि उहाँले १९१७ को अक्टोबर क्रान्तिको पथप्रदर्शन गर्ने सङ्घर्षमा भाग लिनुभयो, अक्टोबर क्रान्तिपछि उहाँले सर्वहारा क्रान्तिका उपलब्धीहरुको रक्षा गर्नका लागि सङ्घर्ष गर्नु भयो ।
लेनिनको देहान्तपछि स्टालिनले भित्री र बाहिरी शत्रुहरुका विरुद्ध दृढताकासाथ सङ्घर्ष गर्न तथा विश्वको पहिलो समाजवादी राज्यको रक्षा गर्न र त्यसलाई सुदृढ बनाउनका लागि सोभियत कम्युनिष्ट पार्टी र सोभियत जनताको नेतृत्व गर्नु भयो ।

स्टालिनले समाजवादी औद्योगिकीकरण र कृषिको सामूहिकीकरणको दिशामा दृढ रहन तथा रुपान्तर र समाजवादी निर्माणमा सोभियत कम्युनिष्ट पार्टी र सोभियत जनसमुदायको नेतृत्व गर्नु भयो । स्टालिनले फासिस्ट विरोधी युद्धको कठिन र तीव्र सङ्घर्षमा महान् सफलता हासिल गर्न सोभियत कम्युनिष्ट पार्टी, सोभियत जनता र सोभियत सेनाको नेतृत्व गर्नु भयो ।

स्टालिनले विभिन्न प्रकारका अवसरावादहरुका विरुद्ध, लेनिनवादका शत्रुहरुका विरुद्ध तथा ट्राट्स्कीवादीहरु, जिनोवेभवादीहरु, बुखारिनवादीहरु र अरु पूँजीवादी ऐजेन्टहरुका विरुद्धको सङ्घर्षका क्रममा माक्र्सवाद–लेनिनवादको रक्षा गर्नु भयो र त्यसलाई विकसित गर्नु भयो ।
स्टालिनले आफ्ना थुप्रै अमर माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक रचनाहरुद्वारा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अमिट योगदान दिनु भएको छ ।

मुख्यतः सर्वहारा अन्तर्राष्ट्रवाद अनुकूलको विदेश नीति कार्यान्वयन गर्न, चीनिया जनतासमेत सम्पूर्ण देशका जनताका क्रान्तिकारी सङ्घर्षलाई व्यापक सहयोग पुर्याउन स्टालिनले सोभियत कम्युनिष्ट पार्टी र सोभियत सरकारको नेतृत्व गर्नु भयो ।

सङ्घर्षको पथप्रदर्शन गर्दै इतिहासको प्रवाहमा स्टालिन सबैभन्दा अगाडि उभिनु भएको थियो भने उहाँ साम्राज्यवादीहरु र सारा प्रतिक्रियावादीहरुका आजीवन शत्रु हुनुहुन्थ्यो ।

स्टालिनका गतिविधिहरु महान् सोभियत कम्युनिष्ट पार्टी र महान् सोभियत जनताका सङ्घर्षसित घनिष्ट रुपले जोडिएका थिए र तिनलाई सारा संसारका जनसमुदायका क्रान्तिकारी सङ्घर्षहरुबाट अलग गर्न सकिन्न ।

स्टालिनको जीवन महान् माक्र्सवादी–लेनिनवादीको जीवन थियो, महान् क्रान्तिकारीको जीवन थियो ।

स्टालिन महान् माक्र्सवादी–लेनिनवादी तथा सर्वहारा क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँले सोभियत जनता र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका लागि सानदार काम गर्नु भएको थियो भने उहाँले केही गल्ती कमजोरीहरु पनि गर्नु भएको थियो । केही गल्तीहरु सैद्धान्तिक खालका थिए र केही गल्तीहरु व्यवहारका क्रममा हुन पुगेका थिए । केही गल्तीहरु हुनुबाट जोगिन सकिन्थ्यो भने कतिपय गल्तीहरुबाट त्यति बेला जोगिन मुस्किल थियो, जति बेला सर्वहारा अधिनायकत्व समक्ष अनुशरण गर्नका लागि कुनै पनि उदाहरण थिएन ।

आफ्नो विचार पद्धतिमा स्टालिन द्वन्दात्मक भौतिकवादबाट विचलित हुनु भएको थियो तथा कतिपय विषयमा उहाँ अध्यात्मवाद र मनोगतवादमा फस्नु भएको थियो । र, त्यसको फलस्वरुप कहिलेकाहिँ उहाँको वास्तविकता र जनतासित सम्बन्ध टुट्न पुग्दथ्यो । पार्टीभित्र र बाहिरका सङ्घर्षहरुमा कहिलेकाहिँ कुनै प्रश्नहरुबारे उहाँले दुई बेग्लै प्रकृति भएका अन्तर्विरोधहरुलाई हामी र शत्रुबीचका अन्तर्विरोधहरुलाई तथा जनताबीचका अन्तर्विरोधहरुलाई छासमिस पारिदिनु हुन्थ्यो तथा ती दुवैलाई हल गर्ने दुई बेग्लाबेग्लै तरिकाहरुलाई छासमिस पारिदिनु हुन्थ्यो । प्रतिक्रान्तिलाई दमन गर्ने कार्यको नेतृत्व स्टालिनले गर्नु भएको थियो । त्यसमा थुप्रै सजाय पाउने खालका प्रतिक्रान्तिकारीहरुलाई उचित सजाय दिइएको थियो भने कतिपय निर्दोष व्यक्तिहरुलाई समेत गल्तीले सजाय दिइएको थियो र १९३७ र ३८ मा प्रतिक्रान्तिकारीहरुलाई दवाउने घेरा बढाइएको थियो । पार्टी सङ्गठन र सकारी सङ्गठनका विषयमा उहाँबाट सर्वहारा जनवादी केन्द्रीयतालाई पूर्णतः कार्यान्वयन गरिएन र केही हदसम्म त्यसको उल्लङ्घन भयो । भाइचारा पार्टीहरु र भाइचारा देशहरुसितको सम्बन्ध निर्वाह गर्दाखेरि उहाँले केही गल्ती गर्नु भयो । उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि कतिपय गलत निर्देशन दिनु भयो । ती गल्तीहरुका कारणले सोभियत सङ्घ र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई केही क्षति हुन पुग्यो ।

स्टालिनका असल काम र गल्ती कमजोरीहरुले ऐतिहासिक, वस्तुगत वास्तविकतासित सरोकार राख्दछन् । दुवैको तुलनाबाट के प्रष्ट हुन्छ भने उहाँका गल्ती कमजोरीहरुको अपेक्षा उहाँका राम्रा कामहरुको वजन बढी छ । उहाँ मुख्यतः सही हुनुहुन्थ्यो भने उहाँका गल्ती कमजोरीहरु गौण थिए । स्टालिनका विचारहरु र उहाँका कामको पूर्ण सार निकाल्ने बेलामा इतिहासको आदर गर्ने इमान्दार कम्युनिष्टले अवश्य पहिले स्टालिनमा कुन कुरा प्रमुख थियो ? त्यो देख्ने छ । अतः स्टालिनका गल्तीहरुको सही मूल्याङ्कन गर्नु छ, तिनको आलोचना गर्नु छ र तिनलाई हटाउनु छ भने स्टालिनको जीवनमा जुन चीज प्रमुख छ, उहाँले जुन कुराको रक्षा गर्नु भएको थियो र विकास गर्नु भएको थियो, त्यसलाई रक्षा गर्नु पर्दछ ।

यदि स्टालिनका गल्तीहरु खालि गौण मात्र थिए र तिनलाई ऐतिहासिक सबकका रुपमा लिने हो, त्यसबाट सोभियत सङ्घ र अन्य देशका कम्युनिस्टहरुले त्यसलाई चुनौती ठानेर ती गल्तीहरु दोहो¥याउनुबाट बच्ने वा पहिलेदेखि नै कम गल्ती गर्ने हो भने त्यो फाइदाजनक हुनेछ । सकारात्मक र नकारात्मक दुवै सबक कम्युनिष्टहरुका लागि उपयोगी हुन्छन् । खालि तिनलाई सही ढङ्गले हासिल गर्ने र तिनले ऐतिहासिक तथ्यहरुसित मेल खाने हुनु पर्दछ र तिनलाई तोडमोड गर्ने हुनु हुँदैन ।

लेनिनले धेरै पटक के बताउनु भएको थियो भने आफ्नै थुप्रै गल्ती कमजोरीहरुका बावजूद पनि अगस्ट बेवेल र रोजा लग्जेम्बर्ग जस्ता महान् सर्वहारा क्रान्तिकारी माक्र्सवादीहरुको रवैया दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादीहरुको भन्दा एक बेग्लै छ । माक्र्सवादीहरुले उनीहरुका गल्तीहरुलाई नलुकाएर तिनका गल्तीका उदाहरुणहरुबाट कसरी बँच्ने र क्रान्तिकारी माक्र्सवादका अझ बढी मागहरु कसरी पूरा गर्ने भनेर सिके । त्यसको विपरीत संशोधनवादीहरुले खालि बेवेल र रोजा लक्जेम्बर्गका गल्तीका विषयमा खेदो मात्र गरे । त्यसबारे संशोधनवादीहरुको खिल्ली उडाउँदै लेनिनले त्यसबारेमा एउटा रुसी नीति कथाको उल्लेख गर्नुभएको छ, “कहिलेकाहिँ गरुड कुखुरीहरु भन्दा पनि तल उड्न सक्दछ तर कुखुरीहरु गरुड बराबर माथि उड्न सक्दैनन् ।” बेवेल र रोजा लक्जेम्बर्ग महान् कम्युनिस्ट थिए तथा उनीहरु आफ्ना गल्तीहरुका बावजूद गरुड नै रहे भने संशोधनवादीहरु कुखुराहरुका बथान हुन् । उनीहरु “मजदूर आन्दोलनको पछाडिको फोहरको थुप्रोमा रहन्छन् ।”

बेवेल र लक्जेम्बर्गको ऐतिहासिक भूमिकाको तुलना स्टालिनको ऐतिहासिक भूमिकासाथ कुनै पनि हालतमा गर्न सकिन्न । स्टालिन सिङ्गो ऐतिहासिक कालभरि सर्वहारा अधिनायकत्व र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान् नेता रहनु भएको थियो र उहाँको मूल्याङ्कन गर्दाखेरि ठूलो सतर्कता अपनाउनु पर्दछ ।

सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले चीनिया कम्युनिष्ट पार्टीमाथि स्टालिनको पक्ष लिएको आरोप लगाउँछन् । हो, हामीहरुले स्टालिनको पक्ष अवश्य लिन्छौँ । जति बेला ख्रुश्चोवले इतिहासको तोडमोड गर्दछन् र स्टालिनलाई पूर्ण निषेध गर्दछ, त्यति बेला स्वभावतः अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका हितमा अगाडि सरेर स्टालिनको पक्ष लिनु हाम्रो अपरिहार्य कर्तव्य हुन पुग्दछ ।
स्टालिनको पक्ष लिने बेलामा चीनिया कम्युनिष्ट पार्टीले उहाँका सही कुराहरुको पक्ष लिन्छ, अक्टोबर क्रान्तिद्वारा स्थापित अधिनायकत्वको पहिलो राज्यको सङ्घर्षशील र गौरवशाली इतिहासको पक्ष लिन्छ तथा यसले सोभियत कम्युनिष्ट पार्टीको सङ्घर्षशील गौरवशाली इतिहासको पक्ष लिन्छ र सारा संसारका श्रमजीवी जनसमुदायबीच अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रतिष्ठाको पक्ष लिन्छ । सङ्क्षेपमा यसले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र व्यवहारको पक्ष लिन्छ । केवल चीनिया कम्युनिष्ट पार्टीले मात्र त्यसो गरिरहेको नभएर माक्र्सवाद–लेनिनवादप्रति प्रतिबद्ध, सबै कम्युनिष्टहरु, सबै पाका क्रान्तिकारी र सबै न्यायप्रेमी जनसमुदायले समेत त्यसो गरिरहन्छन् ।

स्टालिनको पक्ष लिने बेलामा हामीहरुले स्टालिनका गल्तीहरुको पक्ष लिँदैनौ । धेरै समय पहिले चीनिया कम्युनिष्टहरुलाई उहाँका गल्तीहरुको प्रत्यक्ष अनुभव भएको थियो । चीनिया कम्युनिष्ट पार्टीमा कुनै न कुनै रुपमा वामपन्थी अवसरवादी र दक्षिणपन्थी अवसरवादी कार्यदिशा पैदा भएका थिए, तीमध्येका कतिपय अन्तर्राष्ट्रिय स्रोत सम्बन्ध स्टालिनका कुनै गल्तीहरुको प्रभावमा नै भएको थियो । बीसौँ शदीको तेस्रो दशकको उत्तराद्र्ध र चौथो दशकको र पाँचौ दशकका शुरुका र बीचका वर्षहरुमा का. माओ र का. लिउ शाओचीले प्रतिनिधित्व गरेका चीनिया माक्र्सवादी–लेनिनवादीहरुले स्टालिनका गल्तीहरुका प्रभावको प्रतिकार गरेका थिए । उनीहरुले वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको गलत कार्यदिशामाथि पाइला पाइलामा विजय हासिल गरे तथा चीनिया क्रान्ति सम्पन्न गर्नका लागि सफलतापूर्वक नेतृत्व गरे ।

तर स्टालिनद्वारा प्रस्तुत गरिएका केही गलत विचारहरुलाई कतिपय चीनिया कामरेडहरुले अनुशरण र तिनलाई कार्यान्वयन गरेका हुनाले आफ्ना गल्तीका लागि हामी स्वयं चीनियाहरु नै जिम्मेवार थियौँ । तसर्थ “वामपन्थी” अवसरवाद र दक्षिणपन्थी अवसरवादका विरुद्धको सङ्घर्ष गर्दाखेरि हाम्रो पार्टीले केवल हाम्रा साथीहरुकै गल्तीको आलोचना गरेको थियो भने स्टालिनको शिरमाथि दोष थोपर्ने काम गरेन । आलोचना गर्नुको हाम्रो उद्देश्य सही र गलतका बीचको भिन्नता छुट्याउनु, यथोचित पाठ सिक्नु र क्रान्तिकारी कार्यलाई अगाडि बढाउनु थियो । हामीले गल्ती गर्ने साथीहरुलाई केवल गल्तीहरु सुधार्नका लागि मात्र भन्यौँ । यदि उनीहरुले त्यसो गर्न सकेनन् भने उनीहरुले गोप्य विनाशकारी गतिविधिका लागि गोप्य गुट नबनाएको खण्डमा पाइला पाइलामा स्वयंका अनुभवबाट थाह नपाउञ्जेल हामीले पर्ख्यौँ। हाम्रो तरिका पार्टीभित्र आत्मालोचना र आलोचनाको तरिका थियो । हामीहरुले एकताको आकांक्षाबाट थालनी गर्यौं तथा आलोचना र सङ्घर्षद्वारा नयाँ आधारमा सही एकता कायम गर्याैं र त्यसरी राम्रो परिणाम हासिल भयो । हामीहरुको विचार ती अन्तर्विरोधहरु जनताबीचका अन्तर्विरोधहरु हुन् भने हामी र शत्रुबीचका अन्तर्विरोधहरु होइनन् र, तसर्थ हामीहरुले उपर्युक्त तरिका अपनाउनु पर्दछ भन्ने थियो ।

का. खु्रश्चोव र सोभियत कम्युनिष्ट पार्टीका अरु नेताहरुले सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि स्टालिनप्रति कस्तो रुख अपनाएका छन् त ? उनीहरुले स्टालिनका जीवन र कार्यको समग्र ऐतिहासिक र वैज्ञानिक विश्लेषण गरेका नभएर गलत र सहीबीच कुनै भेद नगरीकन उहाँलाई (स्टालिनलाई) पूर्णतः निषेध गरेका छन् । उनीहरुले स्टालिनप्रति कामरेड जस्तो नभएर शत्रुलाई जस्तो व्यवहार गरेका छन् ।

उनीहरुले निष्कर्ष निकाल्नका लागि आत्मालोचना र आलोचनाको पद्धति नअंगालेर सारा गल्ती कमजोरीको दोषी स्टालिनलाई नै ठहर्याएका छन् वा मनपरी ढङ्गले गरिएका गल्तीबारे पनि उहाँकै शिरमाथि थोपर्ने काम गरिएको छ ।

उनीहरुले तथ्य प्रस्तुत गरेका र तर्क वितर्क गरेका नभएर जनसमुदायको मनमस्तिष्कमा विष भर्नका लागि लफ्फाजीपूर्ण गलत व्यक्तिगत प्रहार गरेका छन् ।

ख्रुश्चोवले स्टालिनमाथि गाली गलौज गर्दै उहाँलाई “हत्यारो”, “अपराधी”, “डाँकू”, “दुस्शाहशी”, “जोखिमवाज”, “भयङ्कर इवान” जस्तो “निरङ्कुश शासक”, “रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाह”, “मूर्ख”, “बुद्धिहीन” आदि भनेका छन् । हामीले त्यस्ता अश्लील गवार भाषाको प्रयोग गर्न बाध्य हुनु पर्दा हामीलाई आफ्नो कापी कलम फोहोर हुने त होइन भन्ने डर छ ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै के भनेका छन् भने उनी रुसी इतिहासका सबैभन्दा ठूला तानाशाह थिए । के त्यसो भन्नुको अर्थ सोभियत जनता ३० वर्षको लामो समयभरि रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाहको शासनको अधीनस्थ रहे तथा समाजवादी व्यवस्थामा रहेनन् भन्ने होइन ? महान् सोभियत जनता र सारा संसारका क्रान्तिकारी जनता त्यस प्रकारको लाञ्छनासित पूर्णतः असहमत छन् ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै भनेका छन्, उनी “भयङ्कर इवान” जस्ता निरंकुश शासक थिए ।” के त्यो भन्नुको अर्थ महान् सोभियत सङ्घका जनताले तीस वर्षसम्म सारा संसारका जनतालई जुन अनुभव सिकाए, के त्यो सर्वहारा अधिनायकत्वको शिक्षा नभएर कुनै सामन्ती “निरङ्कुश शासक” को शासनको अनुभव थियो ? महान् सोभियत जनता, सोभियत कम्युनिष्ट र सारा संसारका माक्र्सवादी–लेनिनवादीहरु त्यस लाञ्छनासित पूर्णतः असहमत छन् ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै उहाँलाई “डाँकू” बताएका छन् । के त्यसको अर्थ लामो समयसम्म संसारका प्रथम समाजवादी राज्यको सरकार प्रमुख “डाँकू” थियो भन्ने होइन ? महान् सोभियत जनता र सारा संसारका क्रान्तिकारी जनता त्यस आरोपसित असहमत छन् ।
ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै उहाँलाई “बेइमान” बताएका छन् । के त्यसो भन्नुको अर्थ बितेका दशकौँमा वीरतापूर्ण क्रान्तिकारी सङ्घर्ष गरेको सोभियत कम्युनिष्ट पार्टीको नेता “बेइमान” थिए भनेको होइन ? सोभियत कम्युनिष्टहरु र सारा संसारका माक्र्सवादी–लेनिनवादीहरु त्यो आरोपसित पूर्णतः असहमत छन् ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै उहाँलाई “बुद्धिहीन” बताएका छन् । के त्यो भन्नुको अर्थ फासीवाद विरोधी युद्धमा विजय हासिल गर्ने महान् सोभियत सेनाका सर्वोच्च कमाण्डर “बुद्धिहीन” थिए भन्ने होइन ? गौरवशाली सेना नायक र योद्धाहरु तथा सारा संसारका सम्पूर्ण फासीवाद विरोधी योद्धाहरु त्यो आरोपसित पूर्णतः असहमत छन् ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै उहाँलाई “दुस्शाहशवादी” बताएका छन् । के त्यसो भन्नुको अर्थ विभिन्न देशहरुको क्रान्तिकारी जनताका साम्राज्यवाद विरोधी र प्रतिक्रियावाद विरोधी सङ्घर्षहरुमा त्यसको झण्डा बोक्ने व्यक्ति “दुस्शाहशवादी” थिए भन्ने होइन ? सोभियत जनतासमेत सारा संसारका क्रान्तिकारी जनता त्यो आरोपसित पूर्णतः असहमत छन् ।

ख्रुश्चोवले स्टालिनमाथि हिलो छ्याप्दै उहाँलाई “हत्यारो” बताएका छन् । के त्यसो भन्नुको अर्थ कैयौँ दशकहरुसम्म अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका शिक्षक एउटा हत्यारो थियो भन्ने होइन ? सोभियत कम्युनिष्टहरुसँगै सारा संसारका कम्युनिष्टहरु त्यो आरोपसित पूर्णतः असहमत छन् ।
खु्रश्चोवद्वारा स्टालिनमाथि गरिएको गालीहरुको वर्षा गरिनु सोभियत जनताको ठूलो बेइज्जती हो । सोभियत सेनाको ठूलो बेइज्जती हो, सर्वहारा अधिनायकत्व र समाजवादी व्यवस्थाको ठूलो बेइज्जती हो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको ठूलो बेइज्जती हो, सारा संसारका क्रान्तिकारी जनताको ठूलो बेइज्जती हो तथा माक्र्सवाद–लेनिनवादको ठूलो बेइज्जती हो ।

स्टालिनको समयमा पार्टी र राज्यको नेतृत्वमा रहेका खु्रश्चोवले आफ्नो छाती पिट्दछन्, टेबुल ठोक्दछन् र चिच्चाई–चिच्याई स्टालिनलाई गाली गर्दछन् भने स्वयं उनी कुन स्थितिमा पुग्दछन् ? “हत्यारा” वा “डाँकू” को पक्षपोषण गर्नेहरुको तहमा वा “बेइमान” र “बुद्धिहीन” सरहको स्थितिमा पुग्दछन् ?

ख्रुश्चोवद्वारा स्टालिनलाई गरिएका गालीहरु तथा साम्राज्यवादीहरु, विभिन्न देशका प्रतिक्रियावादीहरु र साम्यवादप्रति गद्दारी गर्नेहरुद्वारा स्टालिनलाई गरिएका गालीहरुमा के फरक छ ? आखिर स्टालिनप्रति अनियन्त्रित घृणा किन गरिन्छ त ? उहाँमाथि शत्रुहरुलाई भन्दा बढी ज्यादै क्रूरतापूर्ण हमला किन गरिन्छ त ?

स्टालिनमाथि गाली गलौज गरेर ख्रुश्चोवले वास्तवमा सोभियत व्यवस्था र सोभियत राज्यको निन्दा गरिरहेका छन् । त्यस क्रममा उनको भाषा काउत्स्की, ट्राट्स्की, टीटो र जिलास जस्ता गद्दारहरुको भाषाभन्दा कत्ति पनि नरम नभएर वास्तवमा ज्यादै कडा छ । जनसमुदायले सोभियत कम्युनिष्ट पार्टीको खुलापत्रका निम्न लिखित अंशलाई उद्धृत गर्दै ख्रुश्चोवसित सोध्नु पर्दछः
“महान लेनिनको पार्टीबारे, समाजवादको मातृभूमिबारे र ती जनसामुदायबारे उनले उक्त कुरा कसरी भन्न सक्दछन्, जसले विश्व साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निर्मम सङ्घर्ष गरेर क्रान्तिका महान् उपलब्धीहरुको रक्षा गरे, समाजवादी निर्माणको सङ्घर्षमा त्याग र वलिदानको अद्वितीय नमूना प्रस्तुत गरे तथा सारा संसारका श्रमजीवी जनताप्रतिको आफ्नो अन्तर्राष्ट्रिय दायित्व इमान्दारीपूर्वक निर्वाह गरे ।”

“गाली गलौजको राजनीतिक महत्व” शीर्षकको आफ्नो लेखमा लेनिनले भन्नुभएको थियो, “राजनीतिमा गालीगलौजले गाली गर्नेहरुको विचारधारात्मक सारतत्वको अभावमाथि उनीहरुको निरीहतामाथि र असमर्थतामाथि तथा उनीहरुको लाजमर्दो शक्तिहीनतामाथि पर्दा हाल्ने गर्दछ ।” के त्यो कुरा सोभियत कम्युनिष्ट पार्टीका नेताहरुमाथि लागू हुँदैन ? उनीहरुले स्टालिनको भूतबाट निरन्तर डराउनुको कारण स्टालिनलाई गाली गरेर आफ्नो सैद्धान्तिक टाटपल्ट्याइमाथि, आफ्नो असहायपनमाथि तथा आफ्नो लाजमर्दो शक्तिहीनतामाथि पर्दा हाल्ने प्रयत्न गर्दछन् ।

“सोभियत सङ्घका बहुसंख्यक जनता स्टालिनका बारेमा गरिएका त्यस प्रकारका गाली गलौजसित सहमत छैनन् । धेरै भन्दा धेरै मात्रामा उनीहरुले स्टालिनको स्मृति आफ्नो मानसपटलमा राखेका छन् । सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले आफूलाई जनताबाट अलग्याएका छन् । उनीहरुले सधैँ आफ्नो शिरमाथि स्टालिनको भूत नाचिरहेको ठान्दछन् । त्यो वास्तवमा स्टालिनको पूर्ण निषेधका बारेमा व्यापक जनसमुदायको ज्यादै असन्तोष नै हो । ख्रुश्चोवले अहिलेसम्म सोभियत जनता र सामाजवादी शिविरका अरु देशहरुका जनता समक्ष त्यो गोप्य प्रतिवेदन देखाउने आँट गरेनन् ।” त्यसमा स्टालिनको पूर्ण निषेध गरिएको छ । त्यो उनले सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा प्रस्तुत गरेका थिए किनकि त्यो कस्तो प्रतिवेदन हो भने त्यसले दिनको उज्यालो सहन सक्दैन र त्यसले उनलाई जनताबाट अलग्याउँछ ।

विशेष गरेर ख्याल गर्नुपर्ने कुरा के हो भने सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले एकातिर स्टालिनमाथि केन्द्रीय समितिमा गालीका पर्रा वर्षाउँछन् भने अर्कातिर आइजन हावर, केनेडी र उनीहरु जस्ताहरुलाई “सम्मान र विश्वास” को दृष्टिले हेर्दछन् । उनीहरु स्टालिनमाथि “भयङ्कर इवाम जस्तो निरङ्कुश शासक” र “रुसी इतिहासको सबैभन्दा ठूलो तानाशाह” भएको आरोप लगाउँछन् भने आइजन हावर र केनेडी दुवैको प्रशंसा गर्दै “उनीहरुलाई अमेरिकी जनताको पूर्ण बहुमतको समर्थन प्राप्त” भएको बताउँछन् । उनीहरुले स्टालिनलाई “बुद्धिहीन” भएको आरोप लगाउँछन् भने आइजन हावर र केनेडी जस्तालाई समझदार भनेर प्रशंसा गर्दछन् । उनीहरुले एकातिर महान् माक्र्सवादी–लेनिनवादीमाथि, महान् नेतामाथि दुष्टतापूर्वक प्रहार गर्दछन् भने अर्कोतिर साम्राज्यवादी सरदारहरुको प्रशंसा गर्दछन् । ती दुवै कुराहरुको सम्बन्ध खालि आकस्मिक हुनु तथा अकाट्य रुपमा माक्र्सवाद–लेनिनवादप्रति गद्दारी गर्नुको परिणाम नहुनु के कहिल्यै सम्भव हुन सक्दछ ?

यदि ख्रुश्चोवको स्मृति कमजोर छैन भने उनलाई के सम्झना हुनु पर्दछ भने जनवरी १९३७ मा मास्कोमा आयोजित आमसभामा स्वयं उनले समेत सही किसिमले स्टालिनमाथि प्रहार गर्नेहरुको भत्र्सना गरेका थिए तथा के भनेका थिए भने “का. स्टालिनमाथि हात उठाउने बेलामा उनीहरुले माक्र्स, एङ्गेल्स र लेनिनमाथि हात उठाउँछन् ।” खु्रश्चोवले बारम्बार स्टालिनको प्रशंसा गर्दै के भनेका थिए भने “उहाँ लेनिनका घनिष्ट मित्र र सहयोद्धा, उहाँ मानव जातिका महानतम् प्रतिभाशाली व्यक्तित्व, शिक्षक र नेता एवं महान् सदा विजयी मार्शल तथा “जनताका सच्चा मित्र” हुनुहुन्थ्यो अनि उनका (ख्रुश्चोवका) “आफ्नै पिता” हुनुहुन्थ्यो ।

यदि कसैले खु्रश्चोवद्वारा स्टालिनको जीवनकालमा भनिएका कुराहरुको तुलना स्टालिनको देहान्तपछि भनिएका कुराहरुसित गर्दछ भने निश्चित रुपमा स्टालिनको मूल्याङ्कनमा ख्रुश्चोवले १८०० को फन्को मारेका छन् भन्ने थाहा पाउँछ ।

यदि ख्रुश्चोवको स्मृति धेरै कमजोर छैन भने स्टालिनको नेतृत्वको जमानामा उनी स्वयंले पनि प्रतिक्रान्तिमाथि दमन गर्ने तत्कालीन नीतिलाई समर्थन र कार्यान्वयन गर्न विशेष रुपले सक्रियतापूर्वक भाग लिएका थिए ।

६ जुन १९३७ का दिन मास्को प्रान्तको छैठौँ पार्टी सम्मेलनमा ख्रुश्चोवले घोषणा गरेका थिएः
हाम्रो पार्टीले गद्दारहरु र धोखेवाजहरुको गुटलाई निर्ममतापूर्वक दबाउनेछ र सारा ट्राट्स्कीवादी दक्षिणपन्थीहरुलाई सफा गरिदिनेछ त्यस कुराको ग्यारेन्टी हो :

हाम्रो केन्द्रीय समितिको अविचल नेतृत्व, हाम्रो नेतृत्व, हाम्रा नेता का. स्टालिनको नेतृत्व । हामीहरुले शत्रुहरुलाई पूर्णतः सखाप पारिदिनेछौँ । एक एक शत्रुलाई सखाप पारिदिनेछौँ । र, उनीहरुको नाम निशानसम्म मेटिदिनेछौँ ।

८ जुन १९३८ का दिन कीन प्रान्तको चौथो पार्टी सम्मेलनमा खु्रश्चोवले घोषणा गरेका थिए :
“यकीर, वालीत्स्की, ल्युवचेन्की, जातोन्स्की र, अरु दुष्टहरुले पोल्याण्डका जमीनदारहरुलाई उक्रेनमा ल्याउन चाहन्थे, जर्मनेली फासिस्टहरु, जमीनदारहरु र पूँजीपतिहरुलाई यहाँ भित्र्याउन चाहन्छन् । हामीहरुले शत्रुहरुलाई ठूलो संख्यामा सखाप गरिसकेका छौँ, तर अझैसम्म सबैलाई चकनाचूर पार्न सकेका छैनौँ । त्यसकारण सतर्क रहनु आवश्यक छ । हामीहरुले पूँजीवादी घेरावन्दी कायम रहेसम्म जासूसहरु र तोडफोड गर्नेहरुलाई लुकीचोरी हाम्रो देशमा घुसाउने काम चलिरहनेछ भन्ने स्टालिनका शब्दहरुलाई सम्झनु पर्दछ ।”

स्टालिनको समयमा खु्रश्चोव पार्टी र राज्यको नेतृत्वमा थिए र उनले प्रतिक्रान्तिकारीहरुलाई दमन गर्ने नीतिलाई सक्रियतापूर्वक समर्थन गरेका थिए तथा त्यसलाई दृढतापूर्वक लागू गरेका थिए भने त्यस बेलाका सबै कार्यहरुको भण्डाफोर किन गर्दछन् त ? दूधले नुहाएर आफूलाई स्वच्छ बनाउन खालि स्टालिनका शिरमाथि मात्र सबै दोष किन खन्याउँछन् त ?

स्टालिनको गल्ती कमजोरी हुँदाखेरि उहाँमा आत्मालोचना गर्ने समेत क्षमता थियो । उदाहरणका लागि चीनिया क्रान्तिका बारेमा उहाँले केही गलत निर्देशन दिनु भएको थियो । तर चीनिया क्रान्तिको विजयपश्चात् उहाँले आफ्नो गल्ती स्वीकार गर्नु भएको थियो । स्टालिनले सोभियत कम्युनिष्ट पार्टी (बोल्शेभिक) को १९३९ मा आयोजित १८ औँ महाधिवेशनमा प्रस्तुत आफ्नो प्रतिवेदनमा पार्टी पङ्क्तिको शुद्धीकरणसित सम्बन्धित काममा भएका आफ्ना कमजोरीहरुको आत्मालोचना गर्नु भएको थियो तर ख्रुश्चोवको के स्थिति हो ? आत्मालोचना कुन चराको नाम हो ? त्यो उनले बुझ्दैनन् । उनले खालि दोष अरुको शिरमाथि थोपर्न र सारा श्रेय स्वयं लिन मात्र जान्दछन् । विडम्बनाको कुरा त के हो भने ख्रुश्चोवले ती काला कर्तुतहरु संशोधनवादको बेलामा गरेका छन् । दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादीहरुद्वारा माक्र्सवादप्रति गद्दारी गरेपछि लेनिनले उनीहरुका अपराधहरुको भण्डाफोर गर्दै १९१५ मा भन्नु भए झैँ “हाम्रो युगमा पहिले गरिसकेका कुराहरु भुलिदिइन्छ, सिद्धान्तहरुलाई तिलाञ्जली दिइन्छ, विश्वदृष्टिकोणलाई छाडिदिइन्छ र प्रस्तावहरु एवं गम्भीर कुराहरुको कुनै पर्वाह गरिन्न, त्यस प्रकारका घटनाहरुको कुनै पर्वाह गरिन्न भने आश्चर्यको कुरा हुँदैन ।”

सोभियत कम्युनिष्ट पार्टीका बीसौँ महाधिवेशनपछिका घटनाहरुको श्रृङ्खलाले पूर्णतः सिद्ध गरिदिए झैँ सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वद्वारा स्टालिनलाई पूर्ण निषेध गर्नुको ज्यादै गम्भीर परिणाम भएको छ ।

त्यसले साम्राज्यवादीहरु र सम्पूर्ण देशहरुको प्रतिक्रियावादीहरुलाई उपयुक्त खालको सोभियत विरोधी र कम्युनिष्ट विरोधी गोला बारुद दिएको छ । सोभियत कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको केही समयपछि साम्राज्यवादीहरुले सोभियत सङ्घ र साम्यवादका विरुद्ध विश्वव्यापी लहर उठाउनका लागि खु्रश्चोवको स्टालिन विरोधी गुप्त प्रतिवेदनको उपयोग गरे । साम्राज्यवादीहरु र सम्पूर्ण देशहरुका प्रतिक्रियावादीहरु तथा टीटो गुट र नाना थरीका अवसरवादीहरुले त्यो मौकाको फाइदा लिनका लागि तँछाड मछाड गरे तथा उनीहरुले समाजवादी शिविर र विभिन्न कम्युनिष्ट पार्टीहरुमाथि प्रहार गरे । त्यसरी थुप्रै भाइचारा पार्टीहरु र भाइचारा देशहरुले गम्भीर कठिनाइहरु व्यहोर्नु पर्यो ।

सोभियत कम्युनिष्ट पार्टीको नेतृ्रत्वको स्टालिन विरोधी उन्मादले धेरै पहिलेदेखि राजनीतिक रुपले मृतप्रायः अवस्थामा पुगिसकेका ट्राट्स्कीवादीहरुमा पुनः प्राण भरि दियो र उनीहरुलाई “ट्राट्स्कीलाई पुनः प्रतिष्ठित” गर्ने कुराको हल्ला मच्चाउन सक्ने बनाइदियो । नोभेम्बर १९६१ मा सोभियत कम्युनिष्ट पार्टीको २२ औँ महाधिवेशन समाप्त हुँदाखेरि तथाकथित चौथो अन्तर्राष्ट्रिय सचिवालयले “सोभियत कम्युनिष्ट पार्टीको २२ औँ अधिवेशन र नयाँ केन्द्रीय समितिलाई पठाएको पत्रमा के भनिएको छ भने “जोजो स्टालिनका शिकार भएका थिए, तिनको स्मारक बनाइनेछ” भनेर ट्राट्स्कीले भनेका थिए । सो सचिवालयले के अगाडि थपेको छ भने “आज त्यो भविष्यवाणी सही सिद्ध भएको छ । तिमीहरुका पार्टीको प्रथम सचिवले तिमीहरुको महाधिवेशन समक्ष त्यो स्मारक बनाइनेछ”, भनेर दावी गरेका छन् । सो पत्रमा “ट्राट्स्कीको नाम स्टालिनका शिकार हुनेहरुको सम्मानमा खडा गरिने स्मारकमा सुनौलो अक्षरले लेखिनु पर्दछ” भन्ने ठोस माग प्रस्ततु गरिएको थियो । ट्राट्स्कीवादीहरुले आफ्नो हर्षबढाइलाई छिपाएनन् र के घोषणा गरे भने सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वद्वारा शुरु गरिएको स्टालिन विरोधी आन्दोलनले ट्राट्स्कीवादका लागि बाटो खोलिदिएको छ । र, त्यसले ट्राट्स्कीवाद र त्यसको सङ्गठन चौथो अन्तर्राष्ट्रियलाई अगाडि बढ्न मद्दत दिनेछ । स्टालिनलाई पूर्ण निषेध गर्ने सोभियत कम्युनिष्ट पार्टीका नेताहरुको उद्देश्य दिनको उज्यालो सहन नसक्ने खालको छ ।
स्टालिनको देहान्त १९५३ मा भएको थियो । त्यसको तीन वर्षपछि सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नो बीसौँ महाधिवेशनमा स्टालिनमाथि जोडतोडले प्रहार गरे र उहाँको निधन भएको ८ वर्षपछि आफ्नो २२ औँ महाधिवेशनको अवसरमा स्टालिनमाथि पुनः प्रहार गरे तथा उहाँको शवलाई हटाइदिए र जलाइदिए । स्टालिनमाथि पुनः जोडतोडले प्रहार गर्ने सोभियत कम्युनिष्ट पार्टीका नेताहरुको उद्देश्य ती महान् सर्वहारा क्रान्तिकारी अमिट प्रभाव सोभियत सङ्घका जनता र सारा संसारको मानसपटलबाट हटाइदिने र स्टालिनले रक्षा गरेको र विकसित गरेको माक्र्सवाद–लेनिनवादलाई निषेध गर्नका लागि बाटो खोलिदिए तथा संशोधनवादी कार्यदिशालाई जोडतोडले लागू गरे । उनको संशोधनवादी कार्यदिशा ठीक बीसौँ महाधिवेशबाट सुरु भयो र २२ औँ महाधिवेशनबाट पूर्ण रुपले व्यवस्थित बन्न पुग्यो । तथ्यहरुले पहिलो भन्दा कैयौँ बढी स्पष्ट रुपमा के जाहेर गरिदिएका छन् भने साम्राज्यवाद, युद्ध र शान्ति, सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्व, उपनिवेशहरु र अद्र्ध–उपनिवेशहरुको क्रान्ति, सर्वहारावर्गको पार्टी आदिका विषयमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुको उनीहरुद्वारा गरिएको संशोधन स्टालिनको पूर्ण निषेधसित अभिन्न रुपले सम्बन्धित छ ।

सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वले “व्यक्ति पूजाको विरुद्ध” संगठनको आड लिएर स्टालिनलाई पूर्ण निषेध गर्ने प्रयत्न गर्दछ ।

“व्यक्ति पूजाको विरुद्ध सङ्घर्ष” चलाएर सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका नेताहरुले आफ्नो तथाकथित “पार्टी जीवन र नेतृत्व” का सिद्धान्तहरुको लेनिनवादी “नापो”लाई पुनः स्थापित गरिरहेका छैनन् । त्यसको विपरीत उनीहरुले नेताहरु, पार्टी, वर्ग र जनताका पारस्परिक सम्बन्धहरुबारे लेनिनवादी शिक्षाहरुको उल्लंघन गरिरहेका छन् तथा पार्टीभित्र जनवादी केन्द्रीयताको सिद्धान्तलाई उल्लंघन गरिरहेका छन् ।

मार्क्सवादी–लेनिनवादीहरुको दृष्टिकोण के छ भने यदि सर्वहारावर्गको क्रान्तिकारी पार्टीले संघर्षका क्रममा सर्वहारा वास्तविक केन्द्रको भूमिका खेल्नु छ भने त्यसले नेताहरु, पार्टी, वर्ग र जनसमुदायका पारस्परिक सम्बन्धहरुलाई सही ढंगले सञ्चालन गर्नु पर्दछ र त्यसको संगठन जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा चल्ने हुनु पर्दछ । त्यस प्रकारको पार्टीको नेतृत्व अपेक्षाकृत रुपमा स्थायी हुनु पर्दछ र त्यसमा लामो समयदेखि खारिएका मार्क्सवाद–लेनिनवादका सार्वभौमिक सत्यतालाई ठोस व्यवहारसित मिलाउने कुशल नेता हुनु पर्दछ ।

सर्वहारावर्गीय पार्टीका नेता केन्द्रीय समितिमा होउन् वा स्थानीय समितिमा होउन्, ती वर्गसङ्घर्ष र जनताको क्रान्तिकारी आन्दोलनका क्रममा जनसमुदायबाटै उत्पन्न हुन्छन् । उनीहरु जनताप्रति ज्यादै निष्ठावान् हुन्छन् । उनीहरुसँग घनिष्ट सम्बन्ध राख्दछन् र जनताका विचारहरुलाई सही ढङ्गले ग्रहण गरेर व्यवहारमा प्रयोग गर्नका लागि योग्य हुन्छन् भने ती नेताहरु सर्वहारावर्गका वास्तविक प्रतिनिधि हुन्छन्, ती जनतालाई मान्य हुन्छन् । त्यस प्रकारका नेताहरु हुनु सर्वहारावर्गीय पार्टीको राजनीतिक परिपक्वताको परिचायक हुन्छ र त्यस कुरामा सर्वहारावर्गको उद्देश्यको विजयको आशा निहित हुन्छ ।

लेनिनको “इतिहासमा जुनसुकै वर्गले पनि आन्दोलनलाई सङ्गठित गर्न र नेतृत्व प्रदान गर्न सक्ने राजनीतिक नेता पैदा नगरीकन सत्ता प्राप्त गरेको छैन” भन्ने कुरा एकदमै सही हो । उहाँले के पनि भन्नु भएको थियो भने “अनुभवी र अत्यन्त प्रतिभाशाली पार्टी नेताहरुलाई प्रशिक्षण गर्ने काम दीर्घकालीन र कठिन हुन्छ । त्यो नभईकन सर्वहारा अधिनायकत्व र त्यसप्रतिको प्रतिबद्धताको एकता खालि मौखिक हिसावकिताब मात्र रहन पुग्दछ ।”

चीनिया कम्युनिष्ट पार्टीले इतिहासमा जनता र व्यक्तिको भूमिकाको विषयमा तथा नेताहरु, पार्टी, वर्ग र जनताका पारस्परिक सम्बन्धहरुका विषयमा सधैँ माक्र्सवादी–लेनिनवादी शिक्षाहरुमाथि अडिग रहेको छ र यसले पार्टीमा जनवादी केन्द्रीयता कायम राखेको छ । हामीहरुले सधैँ सामूहिक नेतृत्व कायम राखेका छौँ भने साथै नेताहरुको भूमिकालाई बढाई–चढाई प्रस्तुत गर्ने कुराको समेत विरोध गर्दछौँ । धेरै पहिले १९४९ मा नै चीनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले का. माओ त्सेतुङको सुझावमा पार्टी नेताहरुको जन्मोत्सवमा कुनै पनि खालको सार्वजनिक समारोहको आयोजना नगर्ने तथा शहर, मार्ग र कारोवारहरुको नाम नेताहरुको नाममा नराख्ने निर्णय गरेको थियो ।

हाम्रो दृढ र सही अडान सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वले वकालत गरेको “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” भन्दा आधारभूत रुपमै बेग्लै छ ।

सोभियत कम्युनिष्ट पार्टीका नेताले “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को वकालत गर्दाखेरि उनीहरुको इरादा तथाकथित जनवादलाई अगाडि बढाउनु, सामूहिक नेतृत्वको पद्धति लागू गर्नु र व्यक्तिको भूमिकालाई बढाई–चढाई प्रस्तुत गर्ने कुराको विरोध गर्नु नभएर आफ्नो निहित स्वार्थ पूरा गर्नु हो ।
उनीहरुको “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” को वास्तविक सारतत्व के हो ?
सङ्क्षेपमा भन्दाखेरि त्यो के हो भने —
१) “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को निहुँ रचेर पार्टी नेता स्टालिनलाई पार्टी सङ्गठन, सर्वहारावर्ग र आम जनसमुदायका विरुद्ध खडा गर्नु ।
२) “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को निहुँ रचेर सर्वहारावर्गीय पार्टी, सर्वहारा अधिनायकत्व र समाजवादी व्यवस्थालाई कलङ्कित गर्नु ।
३) “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को निहुँ रचेर आफ्नो कदमलाई सुदृढ पार्नु र संशोधनवादी षड्यन्त्रकारीहरुद्वारा पार्टी र राज्यका नेतृत्व कब्जा गर्ने बाटो खोल्नका लागि मार्क्सवाद–लेनिनवादप्रति निष्ठावान् क्रान्तिकारीहरुमाथि प्रहार गर्नु ।
४) “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को निहुँ रचेर भाइचारा पार्टीहरु र भाइचारा देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु र उनीहरुको नेतृत्वलाई आफ्नो अनुकूल बनाउनका लागि हस्तक्षेप गर्ने प्रयत्न गर्नु ।
५) “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को निहुँ रचेर माक्र्सवाद–लेनिनवादमा अडिग रहेका भाइचारा पार्टीहरुमाथि प्रहार गर्नु र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा फूट पार्नु ।

ख्रुश्चोवले चलाएको “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” एउटा घृणित राजनीतिक षड्यन्त्र हो । माक्र्सले भन्नु भएझैँ “षड्यन्त्र गर्नका लागि उनलाई खुबै उत्सुकता लाग्दछ भने सिद्धान्तकारको रुपमा उनलाई कसैले सोध्दैन ।”

सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको खुलापत्रमा के भनिएको छ भने “व्यक्ति पूजा”को पाप पखाल्ने बेलामा र त्यसका परिणामहरुका विरुद्ध सङ्घर्ष गर्ने बेलामा सोभियत नेतृत्वले “राम्रो सम्मान प्राप्त नेताहरुलाई उच्च पदमा आसीन गरायो ।” त्यसो भन्नुको अर्थ के हो ? त्यसो भन्नुको अर्थ के हो भने सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले स्टालिनलाई पैतालाले कुल्चिँदै ख्रुश्चोवको प्रशंसा गरेर उनलाई सात तलामाथि आकाशमा पुर्याएका छन् ।

अक्टोबर क्रान्तिका समयमा उनी कम्युनिष्ट बनिसकेका पनि थिएनन् र गृहयुद्धको बेला उनी निम्न स्तरका कार्यकर्ता मात्र थिए भने उनीहरुले तिनलाई “लाल सेनाका सक्रिय निर्माता” बताउने धृष्टता गर्दछन् ।

सोभियत देशभक्तिपूर्ण युद्धको निर्णायक लडाइँमा प्राप्त महान् विजयको श्रेय समेत उनीहरुले ख्रुश्चोवलाई मात्र दिन्छन् तथा स्टालिनग्रादको लडाइँमा “प्रायः ख्रुश्चोवको आवाज सुनिन्थ्यो” र “उनी स्टालिनग्राद वासीहरुका प्राण” थिए भनेर गुणगान गर्दछन् ।

ताप–नाभिकीय शस्त्रास्त्र र रकेटको महान् उपलब्धिको सारा श्रेय उनीहरुले ख्रुश्चोवलाई नै दिन्छन् र उनलाई “ब्रह्माण्ड पिता” बताउँछन् । तर सबैलाई थाहा छ, परमाणु बम, र हाइड्रोडन बम बनाउन सोभियत सङ्ले जुन सफलता पायो, ती स्टालिनको नेतृत्वमा सोभियत वैज्ञानिकहरु र प्राविधिकहरु तथा सोभियत जनताका महान् उपलब्धिहरु थिए । रकेट शस्त्रास्त्रको जग समेत स्टालिनको समयमै हालिएको थियो । ती महत्वपूर्ण ऐतिहासिक तथ्यहरु कसरी मेट्न सकिन्छ ? सारा कुराहरुको श्रेय ख्रुश्चोवलाई कसरी दिन सकिन्छ ?

मार्क्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई संशोधन गर्ने खु्रश्चोवको विचार लेनिनवाद पुरानो भइसकेको छ भन्ने हो भने उनीहरुले ती ख्रुश्चोवको प्रशंसा गर्दै उनलाई “ मार्क्सवाद–लेनिनवादका सिद्धान्तहरु सृजनात्मक रुपले विकसित र समृद्ध बनाउने सानदार आदर्श” बताउँछन् ।

सोभियत कम्युनिष्ट पार्टीका नेताहरुले “व्यक्ति पूजा” का विरुद्ध संघर्षको आडमा जे जति कुराहरु गरिरहेका छन् ती जम्मै लेनिनले भन्नु भए झैँ “सामान्य विषयमा आम मानवीय विचार राख्ने पुराना नेताको बदलामा नयाँ नेतालाई अगाडि ल्याउने काम” मात्र हुन् । “तिनीहरुले अचम्म खालका विवादास्पद बकवास गर्दछन् ।”

सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको खुलापत्रमा मार्क्सवाद–लेनिनवादमा दृढ रहने हाम्रो अडानमाथि आरोप लगाइएको छ र के भनिएको छ भने हामीहरुले “व्यक्ति पूजाको कालमा फूले फलेका व्यवहार, विचारधारा र नैतिकता तथा नेतृत्वका रुपहरु र तरिकाहरुलाई अरु पार्टीहरुमाथि लाद्ने कोशिश गरिरहेका” छौँ । त्यो भनाइले पुनः एकपटक “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष”को बेइमानीलाई पर्दाफास गर्दछ ।

सोभियत कम्युनिष्ट पार्टीका नेताहरुको विचार अनुसार रुसमा अक्टोबर क्रान्तिद्वारा पूँजीवादको अन्त गरिएपछि “व्यक्ति पूजाको काल” आयो । कस्तो लाग्दछ भने त्यस कालको “समाज व्यवस्था” र “विचारधारा एवं नैतिकता” समाजवादी थिएन । त्यस बेला सोभियत श्रमजीवी जनताले ठूलो दमन व्यहोर्नु पर्यो, “भय, सन्देह र अनिश्चितताको वातावरणले जनताको जीवनलाई विषाक्त बनाइदियो” र सोभियत समाजवादको विकासमा बाधा पु¥यायो ।

१९ जुलाई, १९६३ का दिन सोभियत–हङ्गेरी मैत्री सभामा भाषण दिँदाखेरि ख्रुश्चोवले स्टालिनको कथित आतङ्ककारी शासनको चर्चा गर्दै के भनेका थिए भने “स्टालिनले आफ्नो सत्ता बञ्चरोको बलमा टिकाएका थिए ।” तत्कालीन समाजव्यवस्थाको वर्णन उनले यसरी गरेका छन्ः
“त्यति बेला काममा लाग्ने व्यक्तिलाई ऊ घर फर्किने हो वा होइन भन्ने थाह हुँदैनथ्यो ।”
सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वले “व्यक्ति पूजा काल”को जुन चित्र प्रस्तुत गरेको छ, त्यो कस्तो छ भने त्यस बेलाको समाजलाई सामन्तवादी वा पूँजीवादी कालभन्दा पनि बढी “घृणित” र “बर्वर” ठानिन्छ ।

सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वको दृष्टिकोण अनुसार अक्टोबर क्रान्तिको फलस्वरुप स्थापित सर्वहारा अधिनायकत्व र समाजवादी व्यवस्थाको समाजले दशकौँसम्म श्रमजीवी जनताको उत्पीडन हटाउन वा सोभियत समाजको विकासको गति तीव्र बनाउन असफल रह्यो भने केवल सोभियत कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनले “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” गरेपछि मात्र श्रमजीवी जनताको सारा दमन हट्यो र “सोभियत समाजको विकास”को गति “एकाएक तीव्र” हुन पुग्यो ।
ख्रुश्चोवले भने, “थुक्क, स्टालिन दश वर्ष पहिले मरेको हुँदो हो त ।” जस्तो, सबैलाई थाहा छ, स्टालिनको देहान्त १९५३ मा भएको थियो । त्यसको १० वर्ष पहिले १९४३ मा अर्थात् जुन बेला सोभियत सङ्घले महान् देशभक्तिपूर्ण युद्धमा आफ्नो तर्फबाट प्रत्याक्रमण शुरु गरेको थियो, त्यति बेला स्टालिनको मृत्यु होस् भनेर कसले चाहन्थ्यो ? हिटलरले ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा उनले सर्वहारावर्गका नेताहरुलाई कलङ्कको टीका लगाइरहेका छन् तथा “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” जस्तो नाराको प्रयोग गरेर सर्वहारावर्गको कार्यको जरा काटिरहेका छन् भन्ने कुरा माक्र्सवाद–लेनिनवादका शत्रुहरुका लागि नयाँ होइन । त्यो फोहरी खेल जनसमुदायले धेरै पहिले नै थाहा पाइसकेका छन् ।

पहिलो अन्तर्राष्ट्रियको समयमा षड्यन्त्रकारी बाकुनिनले माक्र्समाथि हिलो छ्याप्नका लागि त्यस्तै भाषाको प्रयोग गरेका थिए । पहिले माक्र्सको विश्वास पात्र बन्नका लागि उनले लेखेका थिएः
“म तपाईंको शिष्य हुँ र त्यसमा मलाई गर्व छ ।” पछि जति बेला उनी पहिलो अन्तर्राष्ट्रियको नेतृत्व हत्याउनका लागि सफल भएनन्, त्यति बेला उनले माक्र्सलाई गाली गर्दै भनेका थिए, “एकजना जर्मन र यहुदी हुनुको कारण ऊ टुप्पीदेखि पैतालासम्म निरङ्कुशतावादी” र “तानाशाह” छ ।
दोस्रो अन्तर्राष्ट्रियको कालमा गद्दार काउत्स्कीले पनि लेनिनमाथि हिलो छ्याप्नका लागि त्यस्तै भाषाको प्रयोग गरेको थियो । उसले लेनिनमाथि आरोप लगाउदै “उसले माक्र्सवादलाई केवल राजधर्मको स्तरसम्म पतन गराइदिएको मात्र नभएर मध्य युगीन या पूर्वी धर्मको स्तरसम्म पनि पतन गराएको थियो” भनेर उहाँको तुलना “एकेश्वरवादीहरुको ईश्वर” सित गरेको थियो ।
तेस्रो अन्तर्राष्ट्रियको कालमा गद्दार ट्राट्स्कीले पनि त्यसरी नै स्टालिनमाथि हिलो छ्याप्नका लागि त्यही प्रकारको भाषाको प्रयोग गरेको थियो । उसले के भनेको थियो भने स्टालिनका एकजना “निरङ्कुश शासक हो” तथा “नोकरशाह स्टालिनले नेताको व्यक्तिसित पवित्रतालाई जोडेर निकम्मा नेता पूजाको भावना फैलायो ।”

आधुनिक संशोधनवादी टीटो गुटले पनि स्टालिनमाथि हिलो छ्याप्नका लागि त्यस्तै भाषा प्रयोग गर्दछ र स्टालिन “पूर्ण व्यक्तिवादी सत्ताको व्यवस्थाको तानाशाह थियो” भन्ने गर्दछ ।
त्यसरी के कुरा प्रष्ट हुन्छ भने सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वद्वारा उठाइएको “व्यक्ति पूजाका विरुद्ध सङ्घर्ष” को विषय वाकूनिन, काउत्स्की, ट्राट्स्की र टीटोको परम्परासित सम्बन्धित छ तथा ती सबैले सर्वहारावर्गका नेताहरुमाथि प्रहार गर्नका लागि तथा सर्वहारा क्रान्तिकारी आन्दोलनको आधार खल्वल्याउनका लागि त्यसको प्रयोग गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दालेनको इतिहासमा न त अवसरवादीहरुले माक्र्स, एङ्गेल्स र लेनिनमाथि हिलो छ्यापेर उहाँहरुलाई निषेध गर्न सकेका छन् न ख्रुश्चोवले नै स्टालिनमाथि हिलो छ्यापेर उहाँलाई निषेध गर्न सकेका छन् ।
लेनिनले भन्नु भए झैँ “विशेषाधिकार प्राप्त स्थितिले हिलो छ्याप्नेहरुको सफलताको ग्यारेन्टी गर्न सक्दैन ।”

ख्रुश्चोवले आफ्नो विशेषाधिकार प्राप्त स्थितिको उपयोग गरेर स्टालिनको शव लेनिन शवगृहबाट हटाइदिए तर उनले जतिसुकै प्रयत्न किन नगरुन्, सोभियत जनता र सारा संसारका जनताको मानसपटलबाट स्टालिनको चित्र हटाउनका लागि उनलाई कहिल्यै पनि सफलता मिल्ने छैन ।
ख्रुश्चोवले आफ्नो विशेषाधिकार प्राप्त स्थितिको उपयोग गरेर मार्क्सवाद–लेनिनवादमा केही न केही संशोधन गर्न सक्दछन् तर उनले जतिसुकै कोशिश किन नगरुन् स्टालिनले रक्षा गरेको तथा सारा संसारका मार्क्सवादी–लेनिनवादीहरुले रक्षा गरेको मार्क्सवाद–लेनिनवादलाई चकनाचूर पार्न उनलाई कदापि सफलता मिल्ने छैन ।

हामीहरुले का. ख्रुश्चोवलाई खुला दिलले सल्लाह दिन चाहन्छौँ । हामी के आशा गर्दछौँ भने तिमीले आफ्नो गल्ती महसूस गर्नेछौ र आफ्नो गलत बाटो सच्याएर मार्क्सवाद–लेनिनवादको बाटोमा फर्कनेछौ ।

मार्क्स, एङ्गेल्स, लेनिन र स्टालिनका महान् क्रान्तिकारी शिक्षाहरु जिन्दावाद !
(सोभियत समाजवादका निर्माता स्टालिनबारे अनेक भ्रमहरुको दुस्प्रचार विरुद्ध सामग्रीको आवश्यकता बोध गरी शीर्षक परिवर्तनद्वारा प्रकाशित यो आलेख चीनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिद्वारा जारी ‘महान बहस’ पुस्तक सङ्ग्रहबाट साभारः सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको खुला पत्रबारे समीक्षा–२)
“रनमिन रपाओ–जनदैनिक” र “हुङछी–रातोझण्डा”को सम्पादकीय विभाग
(१३ सेप्टेम्बर १९६३)

2.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.