समखबर संवाददाता
शनिबार आफ्नो पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले भने– ‘किरणको काम छैन’ । ‘विप्लवको अर्थ छैन’ । किरण र विप्लवप्रति प्रचण्ड किन यति धेरै घृणा र आक्रोश पोखिरहेका छन् ? प्रचण्ड किन मुलतः मोहन वैद्य किरणलाई देखी सहदैनन् ? कसलाई खुशी पार्न उनी यसरी किरणप्रति घृणा र आक्रोश फैलाइरहेका छन् ? कुरा स्पष्ट छ– किरण र प्रचण्डको वर्गकित्ता, वर्गस्वार्थ नै फरक परिसक्यो । उनीहरु विपरीत वर्गस्वार्थका लागि लड्ने ठाउँमा पुगिसके । खासगरी प्रचण्डले आफ्नो वर्ग फेरे । वर्गस्वार्थ फेरे ।
आज किरणले सर्वहारावर्ग, श्रमजीवी वर्ग, शोषित उत्पीडित वर्ग र समुदायका मुक्तिको कुरा गरेजस्तै हिजो प्रचण्डले पनि यिनै मुद्दा उठाउँथे । अझ भन्ने हो भने किरणकै त्याग, विश्वास र भरोसाका कारण प्रचण्डले आजको हैसियत बनाएका हुन् । त्यसबेला आफू पार्टीको महामन्त्रीबाट हटेर प्रचण्डलाई महामन्त्री नबनाएको भए, अझ प्रचण्डभन्दा सिनियर सिपी गजुरेलभन्दा माथि पु¥याएर किरणले पार्टीको महामन्त्री नबनाएको भए– प्रचण्डको आजको हैसियत कल्पना पनि गर्न सक्ने स्थिति हुने थिएन । किरणले सर्वहारा वर्ग, श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायलाई मुक्त पारी नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापित गर्ने शर्त, संकल्प र प्रतिबद्धतामा उनले ‘महामन्त्री’को जिम्मेवारी प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
तर आज त्यही मालेमावादी सिद्धान्तको आलोकमा नेपालका हजारौं श्रमजीवी, शोषित, उत्पीडित वर्ग र समुदायको त्याग, तपस्या र महान बलिदानको अपूर्व लगानीमा ‘पार्टीको अध्यक्ष”, ‘सुप्रिम कमाण्डर’, ‘प्रधानमन्त्री’को हैसियतमा पुगेका प्रचण्डले आफ्नो त्यो गौरवशाली विगत (इतिहास) नै लजाउने गरी ‘विश्वासघात’, ‘धोका’ र ‘गद्दारी’ बाटो समात्न पुगेका छन् । र, हेर्दा हेर्दै उनी यतिबेला बुर्जुवा सत्तास्वार्थको उन्मादमा पागल झै बर्बराउने, साम्राज्यवादी र विस्तारवादी शासकहरुको लोती चाट्ने, घर दैलो, कोठा चोटा चाहार्दै फेरि ‘प्रधानमन्त्री’को भिख माग्ने, प्रधानमन्त्री बन्न जस्तोसुकै राष्ट्रघात र जनघात गर्न पनि पछि नपर्ने स्थितिमा पुगेका छन् अनि तिनै साम्राज्यवादी र विस्तारवादी शासकहरुलाई खुशी पार्न किरणहरुलाई गाली गर्ने हैसियतमा झरेका छन् ।
साम्राज्यवादी शक्ति अमेरिकालाई खुशी पार्न १२ बुँदे कथित व्याख्यात्मक घोषणाको नौटंकी गर्दै एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्न पुगेका प्रचण्डले हालै विस्तारवादी मुलुक भारतको भ्रमण गरेर आएलगत्तै भारतकै माग बमोजिमको ‘राष्ट्रघाती’ नागरिकता विधेयक रातारात सदनबाट पास गराए । र, आफैले त्यो विधेयक पास गराउन मुख्य भूमिका खेलेको भन्दै दिल्लीको कानसम्म पुग्ने गरी सगर्व मधेसका जिल्लाहरुमा प्रचार गराउँदै हिडे । प्रचण्ड अहिलेको दलाल तथा नोकरशाही पुँजीवादमा आधारित संसदीय व्यवस्थाको असली मतियार मात्रै होइन, संरक्षक बन्न पुगेका छन् ।
किरणहरु यो व्यवस्थालाई फालेर नयाँ जनवादी व्यवस्था ल्याउन चाहन्छन्, प्रचण्डहरु यसैलाई संरक्षण र प्रबद्र्धन गर्ने, विदेशी शक्तिहरुको दलाली गरेर सत्ता र शक्तिमा बसेर देशको साधन स्रोतमाथि ब्रम्हलुट मच्चाउन चाहन्छन् । प्रचण्डहरुलाई किरणहरुले त्यसै कारण ‘दलाल’, ‘गद्दार’, ‘विश्वासघाती’, ‘नवप्रतिक्रियावादी’ भनेका छन् । त्यसैकारण प्रचण्डहरुले किरणप्रति घृणा, आक्रोश र भ्रमहरु फैलाइरहेका छन् । किरणहरु जति फैलिन्छन् त्यति प्रचण्डहरु खुम्चिनुपर्ने हुन्छ । त्यसैले प्रचण्डले उनको ‘माओवादी केन्द्र’ बाहेक नेपालमा अरु कुनै ‘माओवादी’ पार्टी नरहेको भ्रामक प्रचार गरेर ‘कम्युनिस्ट’ र ‘माओवादी’ जनमतलाई आफ्नो पक्षमा तान्ने असफल प्रयास गरिरहेका छन् । प्रचण्ड त्यही माओवादी केन्द्रको लागि भ्रामक प्रचार गरिरहेका छन्, जुन पार्टी उनले ओलीको टाङमुनि लगेर बुझाइसकेका थिए ।
सुचना प्रविधिको विकास भइसकेको, पटक पटकको संघर्षबाट सचेत र जागरुक जनतालाई अब प्रचण्डका यस्ता भ्रामक प्रचार र उनीहरका प्रचार संयन्त्रले कुनै काम गर्नेवाला छैन ।
यो दलाल संसदीय व्यवस्थाका तीनवटै अंग कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिका (अदालत) भ्रष्टाचार र कमिसनले बद्नाम छन् । निकम्मा र नालायक छन् । जनघाती र राष्ट्रघाती छन् । राष्ट्रियता, जनतन्त्र र जनअधिकारका मुद्दाहरुमा किरणहरु अनवरत संघर्षमा छन् । आफ्नो शक्तिको सापेक्षतामा निरन्तर रुपमा एकल वा संयुक्त रुपमा सडक संघर्षका कार्यक्रमहरु भइरहेका छन् । किनकि मिडिया र पत्रकारहरुको पनि चरुम रुपमा दलालीकरण बढेर गएको छ । सत्ता, शक्ति, विस्तारवादी, साम्राज्यवादी अनि बहुराष्ट्रिय निगमहरुको हण्डी खाने मिडिया र पत्रकारहरुले तिनैको वर्गस्वार्थका विरुद्ध गरिने विचार र सामाचारहरुलाई स्थान दिने कुरै भएन । यसकारण पनि किरणहरुलाई बुझ्ने विषयमा जनतामा केही भ्रमहरु रहेका छन् । समयक्रमसँगै ती भ्रमहरु टुट्दै जानेछन् । महान सम्भावनाका ढोकाहरु खुल्दै जानेछन् । किरणहरु यो समयका आगो हुन् । जनताले चाहेको त्यो सत्ता र व्यवस्था स्थापित भएरै छाड्ने छ । जनताको तागत अजेय हुन्छ । इतिहासका निर्माता जनता हुन् । मानव समाजको इतिहासका कालखण्डमा पटक पटक स्थापित सत्य यही नै हो । किन कि मानव समाजको आजसम्मको इतिहास नै वर्गसंघर्षको इतिहास हो । वर्गसंघर्षको इतिहासमा शासकहरुले जितेको इतिहास छैन ।
समखबर संवाददाता