समखबर संवाददाता
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा प्रष्ट मत सहित विभिन्न माग राखी आन्दोलनरत ६ कम्युनिस्ट पार्टीहरुले संयुक्त विरोध कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने लगायत कार्यक्रम तय गर्न साउन १३ गते ६ कम्युनिस्ट पार्टीको शीर्षस्थ नेताहरुको बैठक बसी संसद्मा प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीतिका विपरीत नेपाली सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी र मलको अभावका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिलाई ज्ञापनपत्र दिने कार्यक्रम समेत तय गरेको बैठक पछि जारी गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विज्ञप्तिको पुर्णपाठ :
विषय : प्रेस विज्ञप्ति
मिति २०७ ९ साउन १३ गते
मिति २०७९ साउन १३ गते ६ आज राजनीतिक दलको बैठक बस्यो । बैठकमा ने.क.पा.(क्रान्तिकारी माओवादी) को तर्फबाट क. रामसिंह श्रीस, क. चन्द्रहरि सुवेदी, ने.क.पा.(बहुमत)का तर्फबाट क. गुणराज लोहनी र क. कृष्ण धमला, ने.क.पा. मसाल विशेष महाधिवेशन आयोजक समितिको तर्फवाट क. सन्तबहादुर नेपाली र क. चिन्तामणि पौडेल, नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट क. लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट क. पासाङ्ग मोक्तान र नारायणप्रसाद धिमाल तथा संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट क. माधव दाहालको उपस्थिति रहेको थियो ।
बैठकद्वारा पारित निर्णयहरु निम्नानुसार रहेका छन् :
१. आज बसेको आन्दोलनरत ६ राजनीतिक दलको संयुक्त बैठकले संसद प्रस्तुत र पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीतिका विपरीत नेपाली सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी र मलको अभावका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
२. कार्यक्रम यसप्रकार तय गरिएको छ : नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुको विरोध जनाउने, अन्तर्क्रिया, विरोध सभा गर्ने ।
अन्तर्क्रिया कार्यक्रम साउन २० गते काठमाडौंमा गर्ने ।
साउन २६ गते इटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्ज र काठमाडौमा गर्ने र आवश्यकताअनुसार स्थानीयस्तरमा संयुक्त कार्यक्रम गर्न सक्ने निर्णय गरिएको छ ।
३. राष्ट्रिय समस्यालाई लिएर संयुक्त आन्दोलनमा क्रियाशील ६ राजनीतिक दलको सदासयता र प्रयत्नका बाबजुद सड्कीर्ण मानसिकताले ग्रसित प्रवृत्तिका कारण यसले साकार रुप लिन नसकेकोप्रति यथार्थ जनाउँदै आन्दोलनलाई संयुक्त व्यापक एवम् प्रभावकारी बनाउन प्रयत्न जारी राख्ने निर्णय गरिएको छ ।
स्थायी समिति सदस्य
सी.पी. गजुरेल
ने.क.पा. ( क्रान्तिकारी माओवादी )
संयोजक
कञ्चन
ने.क.पा. (बहुमत)
संयोजक
सन्तबहादुर नेपाली
ने.क.पा. (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समिति
अध्यक्ष
लोकनारायण सुवेदी
नेपाल कम्युनिस्ट पार्टी
महासचिव
रामनारायण पाल
माओवादी कम्युनिस्ट पार्टी, नेपाल
प्रतिनिधि
नारायण शर्मा
संयुक्त क्रान्तिकारी मोर्चा , नेपाल
समखबर संवाददाता