समखबर संवाददाता
मिटरब्याज पीडितहरूद्वारा माइतीघर मण्डलामा जारी संघर्षमा नेकपा माओवादी निकट किसान र मजदुर संगठनले ऐक्यबद्धता जनाएको छ ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी र अखिल नेपाल ट्रेड युनियन महासंघले श्रावण १८ गतेदेखि माइतीघर मण्डलामा जारी किसानहरुको संघर्षमा संयुक्त प्रेस विज्ञप्ति तथा भौतिक उपस्थिति मार्फत ऐक्यबद्धता जनाएका हुन ।
किसान महासंघका अध्यक्ष सिताराम तामाङ, ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, अखिल नेपाल जनस्वास्थ्य कर्मी संगठनका संयोजक इन्दिरा अधिकारी, बालकृष्ण सिटौला, युवराज थापा सहितका नेताहरू किसान-मजदुरको संघर्षमा ऐक्यबद्धताका निम्ति धर्ना स्थल पुगेका थिए ।
कार्यक्रममा ऐक्यबद्धता मन्तव्य राख्ने प्रक्रियामा किसान महासंघका अध्यक्ष सिताराम तामाङले किसानहरुका समस्यालाई सम्बोधन गर्न सरकार तयार नभएको आरोप लगाएका छन् । ‘यो किसान मजदुरको होइन, मिटरब्याजी सुदखोरहरुको सरकार हो । त्यसैले यो सरकारले किसान-मजदुरको आवाज सुन्दैन । संघर्षबाट मात्रै यसलाई ठेगान लगाउन सकिन्छ । मिटरब्याजीलाई धुलोमा पछार्न सकिन्छ ।’, तामाङको टिप्पणी थियो । साथै यो सरकार स्वयं मिटरब्याजी सुदखोरहरुको सरकार भएको धारणा राख्नुभएको थियो ।
चर्को मिटरब्याजले घरबार गुमाउनु परेपछि पछिल्लोपटक नवलपरासी एवं देशभरका किसान-मजदुरहरु आन्दोलित छन् । नवलपरासीका किसान-मजदुरहरु न्यायको माग गर्दै दोस्रो चरणको संघर्षका कार्यक्रम लिएर काठमाडौ आएका छन् । यस अघि २-१४ असार २०७९ को आन्दोलन सरकारको माग पूरा गर्ने आश्वासन पछि स्थगित भएको थियो ।
विज्ञप्तिको पुर्णपाठ :
संयुक्त प्रेस विज्ञप्ति
२०७९ श्रावण १८ गतेदेखि नवलपरासीका मिटर ब्याज पीडित किसान-मजदुर एवं प्रतिनिधिहरु न्यायका निम्ति दोस्रो चरणको संघर्षको प्रक्रियामा छन । किसान-मजदुरको जारी संघर्षबारे हाम्रो धारणा स्पष्ट गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपाली समाजको मूल चरित्र नोकरशाही तथा दलाल पुँजीपति र सामन्तवर्गीय छ । जसकारण यहाँको राजनीतिक संरचना किसान-मजदुर विरोधी प्रकारको रहेको छ । यसबाट दैनिक लाखौं-लाख किसान-मजदुर शोषण-उत्पीडनको कठोर जीवन-संघर्षको प्रक्रियाबाट गुज्रिरहन बाध्य छन/ पारिएका छन । यसप्रकारको स्थिति अन्त्यका निम्ति किसान-मजदुरहरुले मौजुदा राज्यसत्ता र व्यवस्थाका विरुद्ध कठोर संघर्ष गर्नुपर्ने आवश्यक हुन्छ ।
२. क्रान्तिकारी आन्दोलन रक्षात्मक रहेको स्थितिमा गाउँदेखि शहरसम्म मिटर ब्याज, ढुकुटी आदि र कतिपय अवस्थामा बैंक तथा सहकारी समेतको प्रयोग गरि, नोकरशाही तथा दलाल पुँजिपति र सामन्तहरुले किसानको जमिन दृष्टि बन्धक राख्ने, तमसुक गर्ने आदि प्रक्रियामार्फत चर्को ब्याज असुल्ने गरि ऋण दिने, अन्ततः किसान-मजदुरहरुको जग्गा र सम्पत्ति कब्जा गर्ने र उनीहरुलाई उठिबास लगाउने षड्यन्त्र-अपराध गर्दै आएका छन । नवलपरासी र त्यहाँका किसान-मजदुरहरु त्यसप्रकारको षड्यन्त्र र अपराधको ज्वलन्त उदाहरण हुन ।
३. हामी नवलपरासीका किसान-मजदुरमाथि सामान्यतः मिटरब्याजी सुदखोर, मुलतः विद्यमान राज्य-व्यवस्थाबाट भएको यसप्रकारको षड्यन्त्र-अपराधको घोर विरोध गर्दछौं ।
किसान-मजदुरहरुको संघर्ष र आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दछौं । मिटरब्याजी सुदखोरहरुलाई अविलम्ब कारबाहीको प्रक्रियामा ल्याई किसान-मजदुरको न्याय सुनिश्चित गर्न सरकार समक्ष माग गर्दछौं ।
सिताराम तामाङ
अध्यक्ष
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी )
ईश्वर तिमिल्सिना
अध्यक्ष
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ



समखबर संवाददाता