समखबर संबाददाता


0 प्रतिक्रिया

1.2K

नेपाल छाला जुत्ता उत्पादक संघको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

४ महिना अगाडि
समखबर संबाददाता

1.5K

काठमाडौँ, जेठ २७— “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने नाराका साथ नेपाल छाला जुत्ता उत्पादक संघको १४ औँ वार्षिक साधारणसभा त्रिपुरेश्वरस्थित ए क्याफेको सभाहलमा २५ जेठ, आइतबार भव्यताका साथ सम्पन्न भएको छ। नेपालका परम्परागत छाला जुत्ता उद्योगको सुदृढीकरण, सदस्य उद्यमीहरूको क्षमता अभिवृद्धि र गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६६ सालमा स्थापित संघको सो साधारणसभामा सरकारी प्रतिनिधिहरू, पुर्व एवं वर्तमान कार्यसमिति, सल्लाहकारहरू, संघमा आवद्ध उधेमीहरु, आपूर्तिकर्ताहरू, पेशागत व्यवसायीहरू लगायत अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो l


संघका अध्यक्ष हरिराम बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सल्लाहकार रीबन मंग्रातीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दिलकुमार बिशुन्खेले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभएको सो कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँका प्रमुख यादवनाथ आचार्यले विशिष्ट अतिथिको रूपमा उपस्थित जनाउनु भएको थियो। संघका महासचिव बिधान बोगटीले संस्थाको सङ्क्षिप्त परिचय र उपलब्धीबारे प्रकाश पार्दै उद्‌घाटन मन्तव्य प्रस्तुत गर्नु भएको थियो।


कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्षहरूले जुत्ता उद्योगको उज्ज्वल भविष्यका लागि सोच, नीति र बजारको सही तालमेल अपरिहार्य रहेको कुरा औँल्याउनु भएको थियो। संस्थापक अध्यक्ष रामहरी तोलांगेले परम्परागत पेशाकर्मीबाट उद्यमी बन्न आह्वान गर्दै व्यावसायिक सोच र आधुनिकीकरणको आवश्यकतामा जोड दिनुभयो भने अर्का पूर्व अध्यक्ष जीवन नेपालीले यम.आर.पी. तथा स्थायी प्रदर्शनी कक्षको विषय उठान गर्दै सरकारी नीतिगत सहयोग तथा पूर्वाधारको आवश्यकतामा प्रकाश पार्नु भयोl निवर्तमान पूर्व अध्यक्ष बाशु रोक्काले ८०% बजार नेपाली जुत्ताले ओगटेको हुँदा यो ठूलो अवसर भएको बताउँदै स्वदेशी उत्पादनको विशाल सम्भावना र आत्मनिर्भर अर्थतन्त्रको आधारमाथि आफ्नो विचार राख्नु भयोl सल्लाहकार केशव बिशुन्खेले सबै सरोकारवालाहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।


विशिष्ट अतिथि यादवनाथ आचार्यले छाला जुत्ता सम्बन्धी पेशाको पुस्तान्तरण महत्वपूर्ण चुनौती भएको भन्दै नयाँ पुस्तालाई यस पेशामा आकर्षित गर्न र यस क्षेत्रले भोग्दै आएका जटिलतालाई सम्बोधन गर्न प्रदेश सरकारले संघलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि उमेश सिंहले यो परम्परागत पेशाको महत्वमाथि जोड दिँदै यसमा संलग्न सबैले गर्व गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले यो ऐतिहासिक धरोहर बोकेको पेशाको संरक्षण तथा प्रवर्द्धनका लागि महासंघ दृढताका साथ अगाडि बढ्ने कुरा व्यक्त गर्नुभयो। सभाका अध्यक्षले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उद्‌घाटन सत्रको औपचारिक समापन गर्नुभएको थियो।


साधारणसभाको बन्द सत्रमा संघका कोषाध्यक्ष सान्बाबू बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सो सत्रको सभापतित्व गरिरहनु भएका संघका अध्यक्ष हरिराम बोगटीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाद्वारा छलफल गरी सुझाव संकलनपश्चात् ती प्रतिवेदनहरु पारित गरिएका थिए। संघका सल्लाहकार राजकुमार अछामीले संचालन गर्नुभएको सो दोश्रो सत्रको उत्तरार्धमा अध्यक्षले वर्तमान कार्यसमिति भंग भएको घोषणा गर्दै सभासामु निर्वाचन मण्डल साझा गर्नु भएको थियोl मण्डलले नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढाएकोमा सर्वसम्मतिमा पुरानै नेतृत्व दोस्रो कार्यकालका लागि निर्वाचित भई १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: हरिराम बोगटी
• वरिष्ठ उपाध्यक्ष: दिलकुमार बिशुन्खे
• उपाध्यक्ष: लक्ष्मण मंग्राती
• महासचिव: बिधान बोगटी
• सचिव: कुमार मंग्राती
• सह–सचिव: सान्बाबू बोगटी
• कोषाध्यक्ष: प्रमेश बिशंखे
• सदस्यहरू: योगेश कुमार नेपाली, राजन रम्तेल, राजु नेपाली, रामकुमार तोलाङे, रोशन पुर्कोटी (१ जना पछि मनोनीत गरिने)
नवनिर्वाचित अध्यक्षले छाला जुत्ता उद्योगको संस्थागत विस्तार र उधेमीहरुको हितमा अझ सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। संस्थापक अध्यक्षहरू एवं पूर्व सल्लाहकारहरूले कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै परम्परागत नेपाली छाला जुत्ता उद्योगको बजार विस्तार, गुणस्तर सुधार र नवीन प्रविधिको उपयोगमा जोड दिनुभयोl
नेपाल छाला जुत्ता उत्पादक संघको यो १४ औ बार्षिक साधारण सभाले नेपाली छाला जुत्ता उद्योगमा उल्लेखनीय स्थान ओगटेका पुर्ख्यौली उधेमीहरुको विकासका लागि ठोस योजना र सहकार्यको “ब्लुप्रिंट” तयार गर्न आधार तय गरेको छ। नवनिर्वाचित कार्यसमितिले छाला जुत्ता उधेमीहरुलाई संगठित गर्नुका साथै नेपाली ब्रान्डको प्रवर्द्धन, बजार विस्तार, र उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। समापन सभामा उपस्थित सबैले नेपाली छाला जुत्ता उद्योगको उज्ज्वल भविष्यप्रति आशा र उत्साह व्यक्त गर्नुभएको थियो।

1.5K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.