समखबर संवाददाता
आयल निगमले पटकपटक गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टेकुस्थित आयल निगमको कार्यालय अगाडि नेकपा क्रान्तिकारी माओवादी निकट जनवर्गीय संगठनहरूले संयुक्त धर्ना र विरोध प्रदर्शन गरेको छ ।
सरकारको एकल स्वामित्व रहेको नेपाल आयल निगमद्वारा पटकपटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तथा दैनिक उपभोग्य बस्तुमाथि भएको अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग गर्दै जनवर्गीय संगठनहरूले संयुक्तरुपमा धर्ना र विरोध प्रदर्शन गरेको छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी युवा लिग, अखिल क्रान्तिकारी, अनेमा संघ क्रान्तिकारी, नेपाल दलित मुक्ति मोर्चा, जनजाति महासंघ, किसान संगठन लगायत नेकपा क्रान्तिकारी माओवादी संबद्ध जनवर्गीय र मोर्चा संगठनहरुको आयोजनामा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको अनियन्त्रित बजार मूल्य, अमेरिका र नेपाल बिच भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विरुद्ध विरोध प्रदर्शन गरेको हो । साथै खेतीको मुख्य सिजनमा सरकारबाट सृजना गरिएको मलको कृत्रिम अभावको समेत विरोध जनाएको छ ।
‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको मारले सवारी साधन चलाउन नसकेको जनाउ स्वरुप सांकेतिक रुपमा त्रिपुरेश्वरबाट मोटरसाइकल डोर्याइ आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विरोध सभा सम्पन्न गरेका छौं ।’ नेकपा क्रान्तिकारी माओवादी निकट जनवर्गीय संगठनका एक नेताले भने, ‘हामी पेट्रोलियम पदार्थमा थोपरिएको अत्यधिक कर हटाउन र दैनिक उपभोग्य वस्तु माथि भएको अत्याधिक मूल्यवृद्धिको खारेजीका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’
सरकारको एकल स्वामित्व रहेको नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गरि १७८ कायम गरिएको पेट्रोलको मूल्यमा पछिल्लोपटक २१ रुपैयाँ वृद्धि गरि १९९ कायम गरेको थियो । साथै अन्य पेट्रोलियम पदार्थमा समेत अत्यधिक मूल्यवृद्धि गरिएको थियो ।



समखबर संवाददाता