समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ वाम घटकले सरकारले हालै ल्याएको नागरिकता विधेयकमा राष्ट्रघाती प्रावधानहरु राखिएको भन्दै त्यसको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनलाई ६ वाम घटकका नेताहरुले विरोध मन्तव्य राखेका थिए ।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापा, नेकपा मसाल समन्वय समितिका नेता रामबहादुर बुढा, नेकपाका नेता लोकनारायण सुवेदी र अभियन्ता साध्यबहादुर भण्डारीले सरकारले संसदमा टेवल गरेको नागरिकता विधेयकमा रहेका राष्ट्रघाती प्रावधानहरुका विषयमा चर्चा गरेका थिए । नेकपा बहुमतका नेता कृष्ण धमलाले सञ्चालन गरेको कार्यक्रममा ६ वटै वाम घटकका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो नागरिकता विधेयक विदेशीहरुलाई नागरिकता दिने उद्देश्यले ल्याइएको हुनाले यसको खारेजी अपरिहार्य रहेको नेताहरुले बताए । देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भिर आघात पु¥याउने भएकाले यो विधेयक खारेज गर्न वक्ताहरुले माग गरेका हुन् । कार्यक्रमको अन्तमा राष्ट्रघाती विधेयक जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । उक्त क्रममा सरकारको जनघात र राष्ट्रघातको विरोधमा चर्को नाराबाजी समेत गरिएको थियो ।
विरोध प्रदर्शनको पूर्वसन्ध्यामा ६ वाम घटकले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरेर नागरिकता विधेयकको घोर निन्दा र भर्सना गरेका थिए ।
संसदवादी दल र तिनका शीर्ष नेता–शासकहरुबाट देश र जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्दै नागरिकता जस्तो महत्वपूर्ण विषयलाई आफ्नो सत्तास्वार्थ पूर्ति जस्तो क्षुद्र र क्षणिक स्वार्थ पूर्तिका लागि विदेशीको दलाली गर्ने यो घृणित प्रवृत्ति र परम्परा खेदजनक छ ।”
समखबर संवाददाता